काठमाडौं, वैशाख २८
नेपाल सरकारले शनिबारसम्म ५५ हजार ९ सय ३० जनाको कोभिड–१९ को आरडीटी (द्रुत परीक्षण) गरेको छ । पीसीआरबाट १६ हजार तीन सय नौ जनाको परीक्षण गरेको छ । पछिल्लो २४ घण्टामा मात्रै एक हजार ७ सय ४२ जनाको आरडीटी परीक्षण गरिएको छ । प्रदेश नं १ मा सात हजार ५५, प्रदेश नं २ मा पाँच हजार ८ सय ९०, वाग्मती प्रदेशमा नौ हजार १ सय ५, गण्डकी प्रदेशमा छ हजार ३ सय ७७, प्रदेश नं ५ मा छ हजार ६ सय ३८, कर्णाली प्रदेशमा छ हजार १ सय ७४ र सुदूरपश्चिम प्रदेशमा कुल १४ हजार ६ सय ९१ को परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हाल कुल १४ हजार ५ सय ९२ जना क्वारेन्टाइनमा रहेका छन् । त्यसमा प्रदेश नं १ मा एक हजार ४८६, प्रदेश नं २ मा एक हजार ३ सय ५५, वाग्मती प्रदेशमा २ सय ९४, गण्डकी प्रदेशमा ४ सय ६३, प्रदेश नं ५ मा पाँच हजार २ सय २८, कर्णाली प्रदेशमा दुई हजार ४ सय ५५ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ३ सय ५१ क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै आइसोलेसनमा १ सय ४३ रहेका छन् । त्यसमा काठमाडौँ उपत्यकामा दुई र उपत्यकाबाहिर १ सय ४१ रहेका छन् । हालसम्म मोबाइल एप र बेव पेजमार्फत गुनासो गर्नेको सङ्ख्या ३४ हजार ५१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ सय ५४ गुनासो आएकामा त्यसलाई सम्बोधन गरिएको छ । तीमध्ये चार जना रेड जोनमा परेका छन् । हालसम्म रेड जोनमा पर्नेको सङ्ख्या ३ सय ४० पुगेको छ ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका लागि हाल मौज्दातमा कुल ५० हजार पीसीआर किट रहेकाले दायरा विस्तार गर्न लागिएको हो । द्रुत परीक्षणलाई नियमितरुपमा अगाडि बढाइरहेको भए पनि पीसीआरका माध्यमबाट वस्तुगत विवरण प्राप्त हुने भएकाले दायरा विस्तार गर्न लागिएको मन्त्रालयले जनाएको छ ।सरकारले प्रदेश नं. २ का रौतहट, बारा र पर्सा तथा प्रदेश नं ५ का जिल्लामा थप परीक्षण गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । ती जिल्लामा नमूना सङ्कलनका लागि मन्त्रालयले टोली परिचालन भइसकेको जनाएको छ । सो प्रदेशमा हालसम्म पछिल्ला तीन दिनमा ४ सय पीसीआर परीक्षण गरिएको छ ।
प्रदेश नं ५ मा मात्रै कूल सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । यस्तै प्रदेश नं १ मा ३४, प्रदेश नं २ मा ३१, वाग्मती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच सङ्क्रमित छन् । देशभर कूल १०९ जना कोरोनाबाट सङ्क्रमित भएको तथ्याङ्क पेश गर्दै प्रवक्ता देवकोटाले हालसम्म ३१ जना अस्पतालबाट घर फर्केका र ७८ जना उपचारका क्रममा रहेका छन् । त्यसमा पुरुष ७८ र महिला ३१ रहेका छन् ।
शुक्रबार कैलालीको सेती अस्पतालबाट एक महिला ३५ दिन पछि घर फर्केको समेत मन्त्रालयलले जानकारी दिएको छ । मन्त्रालयका अनुसार वीरगञ्जमा २७, विराटनगरमा २०, रुपन्देहीमा छ, नेपालगन्जमा २४ र भरतपुरमा एक जना गरी ७८ जनाको उपचार भइरहेको छ । उपचारमा रहेका सङ्क्रमितको अवस्था राम्रो रहेको छ ।
थप सामाजिक दूरी कायम गर्न आग्रह : सरकारले आइतबारदेखि थप अत्यावश्यक सेवासमेत सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सामाजिक दुरी कायम गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राख्न आग्रह गरेका छन् । आइतबारदेखि बैंक तथा वित्तीय संस्था, बीमालगायतका अन्य सेवासमेत सञ्चालनमा आउने भएका छन् । यस्तै मङ्गलबारदेखि शेयर बजारसमेत खुल्ने भएको छ । यो अवस्थालाई मध्यनजर गरेर सामाजिक दुरी कायम गर्न, घर तथा कार्यालय जाँदा साबुन पानीले हात धुने तथा स्यानीटाइजरको प्रयोग गर्न उनले आग्रह गरेका छन् । “सामाजिक दुरी कायम गर्दै मास्क लगाउन तथा अन्य स्वास्थ्य सुरक्षाको उपायसमेत अपनाउन अनुरोध छ”, डा देवकोटाले भने ।