काठमाडौँ । पाँच प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले समाजवाद जागरण अभियान सम्पन्न गरेको छ । यही असोज १४ गतेदेखि सुरु भएको अभियान २९ गतेसम्म सञ्चालन हुने भएको छ ।
पार्टीले काँकडभिट्टाबाट सुरु गरेको सो अभियान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सम्पन्न गरेको हो । पार्टीका नीति सिद्धान्त र कार्यदिशाबारे जनतालाई बुझाउन अभियान गरिएको पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए ।
सो अभियानअन्तर्गत भ्रष्टाचार, देशको राजनीतिक परिस्थिति, बेथितिको अवस्था र गरिबी न्यूनीकरणका लागि पार्टीको योजनाबारे जनतामा जागरण फैलाइनाका साथै जनताको घरदैलोमा पुगेर आर्थिक, राजनीतिक र सामाजिक सुरक्षाका विषयमा सुझाव सङ्कलन गरिएको छ ।
इँटहरी, इनरुवा, भारदह, राजविराजको काँकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी, विराटचोक, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जलेश्वर, ढल्केबर, बर्दीबास, लालबन्दी, कलैया, वीरगञ्ज, हेटौंँडा, चितवन, कावासोती, बर्दघाट, बुटवल, भैरहवा, कपिलवस्तु, दाङ, कोहलपुरलगायत स्थानमा ठूला सभा सम्पन्न भएका छन् ।
पार्टीको प्रचार विभागले विभिन्न पार्टी परित्याग गरी करिब चार हजारभन्दा बढी नेता तथा कार्यकर्ता सो पार्टीमा प्रवेश गरेको जनाएको छ । पार्टीका शीर्ष नेताहरुले सम्बोधन गरेको सो अभियानमा कार्यकर्ता भेला, पत्रकार सम्मेलन, अन्तरक्रिया, कोणसभा तथा ठूला आमसभासमेत गरिएका छन् ।