काठमाडौं । विद्युतीय चुरोट (भेप)मा सुन हालेर तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित चार जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले संगठित अपराध, भन्सार छली र विश्वासघात गर्न नहुने कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको जनाएकोे छ ।
उक्त कसुर गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित लोकेन्द्रकुमार पौडेल, दावा छिरिङ र निमा गुरुङविरुद्ध अभियोजन दर्ता भएको हो । गुरुङ फरार छन् भने छिरिङ ६१ किलो सुन तस्करीका पनि आरेपी हुन् ।
विसं २०७९ पुस १० गते युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईबाट विद्युतीय चुरोट (भेप)मा लुकाइ ल्याएको आठ करोड ५५ लाख रुपैयाँबराबरको करिब नौ किलो सुन तस्करी भएको थियो । गत शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उक्त प्रकरणमा सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाएको थियो ।