काठमाडौं । विदेशी नागरिक हो भन्दै अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेका एक नेपाली युवा पक्राउ परेका छन् । आईफोन, गरगहनालगायत हजारौँ डलरको गिफ्ट पठाईदिने नाममा अनलाइनमार्फत ठगी गर्दै आएका ललितपुर महानगरपालिका–१९ बस्ने २९ वर्षीय सनिष मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।
विभिन्न सामाजिक सञ्जालको दुरुप्रयोग गरी पीडितलाई आफु ईटालीको नागरिक हुँ भन्दै प्रेमको प्रपञ्चमा पारी आईफोन, लेडिज ब्याग, सुन तथा गरगहना पाँच हजार डलरसहितको गिफ्ट पठाईदिने र उक्त पार्सल पाउनको लागि भन्सार शुल्क, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनि उनले ठगी गरेका हुन् । यसरी पीडितलाई विश्वास दिलाई विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाताहरुमा पटक–पटक गरी जम्मा १७ लाख १५ हजार रुपैयाँ रकम पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।