काठमाडौँ । नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले मुनाफा आर्जन गरिरहेकाले दक्षिण कोरियाली कम्पनीहरुलाई पनि लगानी गर्न विश्वबैंकको वार्षिक बैठकको सिलसिलामा मोरक्कोको मराकेसमा रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गरेका छन् ।
अर्थमन्त्री महतले कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको बिहीबार भएको भेटमा नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले लगानीको प्रतिफल प्राप्त गरिरहेकाले कोरियाली कम्पनीलाई पनि नेपालमा लगानीको उपयुक्त अवसर भएको बताउँदै पुँजी परिचालन गर्न आग्रह गरेको अर्थमन्त्रालयले जनाएको छ ।
मन्त्री महतले कोरियाली उपप्रधानमन्त्रीलाई भने । “हामीहरुले चालू आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रको लगानीलाई थप सहजीकरण गर्ने प्रयास गरेका छौँ । आगामी दिनमा पनि निजी क्षेत्रलाई सुविधा दिने हाम्रो योजना छ । कोरियाली लगानीकर्तालाई नेपालमा स्वागत गर्न हामी आतुर छौँ ।”
“नेपालमा लगानी गरेका भारतीय बहुराष्ट्रिय कम्पनी डाबर, अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकोकोला र पेप्सी, भारतीय कम्पनी आइटिसी इण्डिया मात्रै होइन मलेसियन टेलिकम कम्पनीले पनि मुनाफा आर्जन गरिरहेका छन्” उनले भने ।
नेपालमा व्यापार तथा लगानीको वातावरणमा निरन्तर सुधार भइरहेकाले कोरियाली लगानीकर्तालाई झन्झट नहुने आश्वस्त पार्दै भारत सरकारले नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरिसकेको जानकारी दिए । उनले जलविद्युत् उत्पादन, प्रसारण र वितरण लाइन, डिजिटल क्षेत्र, कृषि, पर्यटन क्षेत्रमा लगानी गरे त्यसले राम्रो प्रतिफल दिने बताए ।
अर्थ मन्त्रालयका अनुसार नेपालमा पर्यटन विकासको प्रचुर सम्भावना रहेको तर कमजोर भौतिक पूर्वाधारले समस्या भएकाले कोरिया सरकारलाई पूर्वाधार विकासमा सहुलियतपूर्ण कर्जा, अनुदान, क्षमता विकासमा सहयोग गर्न उनले आग्रह गरे । नेपालको पूर्वाधार विकासमा सहयोग गर्न आफू तयार रहेको बताउँदै कोरियाली उपप्रधानमन्त्रीले केही कोरियाली लगानीमा दोहोरो करसम्बन्धी समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न मन्त्री महतलाई आग्रह गरे ।
दोहोरो करसम्बन्धी समस्या समाधान गर्न आफू तयार रहेको बताउँदै मन्त्री महतले कोरियाली लगानीलाई संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कोरियाका उपप्रधानमन्त्री नेपाल भ्रमण गर्न आमन्त्रण गरे । उपप्रधानमन्त्री चु क्यूङले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको भन्दै यथासक्य छिटो एजेण्डा तय गर्न आग्रह गरे । १२ हजार नेपालीलाई रोजगारीको अवसर प्रदान गरेकामा अर्थमन्त्री महतले कोरिया सरकारको सराहना गरे ।
कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङलाई अर्थमन्त्री महतले नेपाल वायुसेवा निगमलाई कोरियामा सिधा उडान अनुमति दिन माग गरे । कोरियन एयरलाइन्सले नेपालमा सिधा उडान गरिरहँदा नेपाल वायुसेवा निगमलाई पनि सिधा उडानको अनुमति दिनुपर्नेमा मन्त्री महतले जोड दिएको अर्थमन्त्रालयले जनाएको छ ।