विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीका लागि दुई प्रदेशसभा सदस्यले हस्ताक्षरसहित दाबी पेस गरेका छन् । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । आङ्बो र कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम दाबी पेस गरेका हुन् । प्रदेशप्रमुख परशुराम खापुङले मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न शुक्रबारसम्मको समय दिएका थिए ।
माओवादी केन्द्रका आङ्बोले सत्ता गठबन्धनका चार दलका संसदीय दलको नेताको समर्थन लिएर प्रदेशप्रमुखसमक्ष दाबी पेस गरेका थिए । त्यसलगत्तै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कार्कीले कांग्रेसका आठ र नेकपा एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी गरे । कार्कीले प्रदेशप्रमुखसमक्ष दाबी पेस गरेपछि आफूले संविधानको धारा १६८ को उपधारा ५ र सर्वोच्च अदालतको संवैधानिक इजलासको नजिरको सदुपयोग गरेको बताए । कार्की कांग्रेसमा डा. शेखर कोइराला समूहका नेता हुन् ।
कार्कीको दाबीपछि कांग्रेसका नेताहरूले कोइरालाले एमालेसँग मिलेर पार्टी नेतृत्वविरुद्ध विद्रोह गरेको रूपमा हेरेका छन् । कोइरालाले कांग्रेस संसदीय दलको नेता फेरेर राप्रपाको समर्थनसहित सरकार बनाउन चाहन्थे । तर, माओवादीले पनि मुख्यमन्त्री दाबी गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालाको प्रस्ताव मानेनन् । त्यसपछि कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ लिँदै विद्रोह गर्ने स्थितिमा पुगे । ओलीले कोइरालालाई साथ दिएपछि कांग्रेसभित्रका आफ्ना पक्षका सांसदहरूको हस्ताक्षर गरी विद्रोह गर्ने निर्णयमा पुगे ।
सर्वोच्च अदालतले २०७८ असार २८ गते शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश दिएको फैसलाको नजिरअनुसार कार्कीको दाबी बलियो छ । त्यसैले एमालेको साथमा शेखर कोइरालाले कोशीमा गरेको विद्रोेहले कांग्रेसभित्र मात्र
नभई गठबन्धनमा हलचल ल्याएको छ ।