सुबास बस्नेत
काठमाडौं, वैशाख २८
कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण बन्द रहेका जिल्लाका पसलहरु आंशिक रुपमा खुल्न थालेका छन् । गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई अघोषित रुपमा केही खुकुलो पारेसँगै जिल्लामा केही चहलपहल बढेको हो ।
कानुनी रूपमा जिल्ला सदरमुकाम चरीकोटमा करिब साढे तीन सय पसल सञ्चालनमा रहेका छन् । जसमध्ये एक सयको हाराहारीमा बिहान र बेलुकाको समयमा पसल खुलेको पाइएको हो । जिल्ला प्रशासन कार्यालयले दोलखाले अत्यावश्यक सामानका पसलहरु खोल्न दिए पनि यसअघि बजारमा एक दर्जनको हाराहारीमा मात्रै पसल खुल्ने गरेका थिए । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन वैशाख २५ सम्म आइपुग्दा समग्र जिल्लाभरको अवस्था सुनसान नै कायम रहेको थियो ।
तर वैशाख २५ पछि भने एक सयको हाराहारीमा पसलहरु खुल्ला भएको उद्योग वाणिज्य संघ दोलखाले जनाएको छ । संघका अनुसार चरीकोट बजारमा बिहान ५ बजेदेखि ८ बजे र बेलुका ५ बजेपछि बजारका व्यापारीहरुले पसल खुल्न थालेका छन् । सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै उद्योग धन्दा सञ्चालन गर्न अनुमति दिएसँगै मान्छेहरुको चहलपहल बढेको स्थानीयको भनाइ छ ।
जिल्लाभित्र चल्ने सवारीसाधनको ओहोरदोहोर पनि बढेको जिल्ला ट्राफिक कार्यालय चरीकोटका ट्राफिक प्रहरी प्रमुख गोकर्ण नेपालले बताए । उनका अनुसार बजारमा धेरै जसो निर्माण सामग्री ढुवानीका सवारी चल्ने गरेका छन् । लकडाउनका बीच पनि जिल्लामा महत्वपूर्ण आयोजनाको काम सुचारु भइरहेको हुँदा निर्माण सामग्रीका सवारी चल्ने गरेको उनको भनाइ छ ।
चरीकोटमा अहिले केही खाजा घर, वित्तीय संस्था तथा सहकारी संस्था, दुग्ध पदार्थका पसल, तरकारी मासु पसल, फेन्सी तथा कपडा पसल र निर्माण सामग्रीका पसल खुलेका छन् । जिल्ला प्रशासन कार्यालय दोलखाका अनुसार पछिल्लो दिनमा जिल्लाबाहिर जाने भित्रिने मानिसको संख्या भने खासै छैन । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले शनिबारसम्म समग्र जिल्ला कोरोनाको संक्रमणबाट सुरक्षित रहेको बताए । हालसम्म गरेको कोरोना परीक्षणमा कुनै जोखिम नदेखिएको उनले जानकारी दिए ।