काठमाडौं, वैशाख २८
लकडाउनको समयमा पनि प्रक्रिया पु-याएर आंशिक उद्योग, व्यवसाय सञ्चालन गर्न दिने सरकारको निर्णयको स्वागत गर्दै नेपाल उद्योग परिसंघले यसबाट सामान्य रुपमा भए पनि औद्योगिक गतिविधि बढ्न गई अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताएको छ । परिसंघले सञ्चालनमा आउने उद्योग व्यवसायहरुलाई आवश्यक स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको अनुशरण गर्न पनि आग्रह गरेको छ । यसैगरी आंशिक खुला गरिएका व्यवसाय सञ्चालनका लागि आवश्यक सवारी आवतजावत तथा हिँड्डुलका लागि अनुमति पत्र अर्थात् पास वितरणलाई थप व्यवस्थित बनाउन पनि परिसंघले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
संक्रमणको जोखिमको आधारमा सम्पूर्ण देश, प्रदेश र स्थानीय तहलाई तीन अलग/अलग क्षेत्र अर्थात् जोनमा बाँडेर थप कडाइ र खुला गर्दै लैजाने काम अघि बढाउन पनि परिसंघले सरकारसँग आग्रह गरेको छ । रेड, अरेन्ज र ग्रिन जोनमा बाँडेर जोखिमको स्तर निर्धारण गरी संक्रमण नियन्त्रणमा थप काम गर्न सकिने र कम जोखिमका क्षेत्रमा थप खुला गर्दै लैजाँदा स्वास्थ्य र आर्थिक संकटबाट हुने क्षति कम गर्न सकिने भएकाले यसतर्फ कदम चाल्न परिसंघले सरकारलाई सुझाव दिएको छ ।