काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोेशन(एमसीसी) अन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै टेन्डर रद्द भएका छन् । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रबार एक सूचना गरी गर्दै सबै ठेक्का रद्द भएको जानकारी दिएको हो ।
एमसीसी परियोजना अन्तर्गतको प्रसारण लाइन निर्माणका लागि तीन लटमा विभाजन गरेर अघि बढाइएको ठेक्का प्रक्रियामा गत जेठ ८ गते टेन्डर खुला गरिएको थियो । प्रसारण लाइन निर्माणको लागि एमसीए नेपालले २२ करोड ६ लाख डलरको अनुमानित लागत निकालेको थियो । तर, न्यूनतम बोलपत्रको रकम ३६ करोड ५९ लाख डलर पुगेको थियो । एमसीए नेपालले गरेको अनुमानित लागतभन्दा न्यूनतम लागत नै महँगो हुने गरी टेण्डर परेपछि रद्द भएको हो । अब प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गर्नुपर्ने हुन्छ ।
एमसीए नेपालले ३ सय १५ किलोमिटर लामो प्रसारणलाइन परियोजनालाई तीन भागमा बाँडेर निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । गत ८ जेठमा खोलिएको बोलपत्रअनुसार ६ वटा कम्पनीले प्रसारणलाइन बनाउन प्रस्ताव पेश गरेका थिए । त्यसमध्ये पाँचवटा कम्पनीमात्रै प्राविधिक रुपमा सफल भएका थिए ।