काठमाडौं । हमास समूहको आक्रमणपछि इजरायलबाट दुई सय ५३ नेपाली स्वदेश फर्किएका छन् । नेपालबाट उद्धार गर्न गएको नेपाल एयरलाइन्सको विमान राति साढे एक बजे काठमाडौं आइपुगेको हो ।
नेपाली नागरिकको उद्धारका लागि विमान बिहीबार बिहान साढे तीन बजे दुबई हुँदै इजरायल गएकोे थियो । उद्धारका लागि परराष्ट्र मन्त्री नारायणप्रकाश साउद विमानमा आफैँ इजरायल गएका थिए । इजरायलबाट स्वदेश फर्कन चाहने नेपाली ल्याउनका लागि नेपाल एयरलाइन्सको दुई सय ७४ सिट क्षमता भएको वाइडबडी विमान इजरायल गएको थियोे ।
शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए । एक जना नेपालीको अवस्था अझै अज्ञात छ । इजरायलस्थित नेपाली राजदूतावासले नेपाली नागरिकलाई सुरक्षित स्थानमा सार्न र उद्धार हुन आग्रह गर्दै नेपाल फर्कन चाहने नेपालीहरूको विवरण अनलाइन रजिस्ट्रेसन प्रणालीमार्फत संकलन गरिरहेको छ ।
हालसम्म तीन सय ५० भन्दा बढी नेपाली नागरिकले आफ्नो विवरण उपलब्ध गराएका छन् । विवरण दिनेमध्ये दुई सय ८८ जनाभन्दा बढीले नेपाल फर्कन चाहेको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलमा हाल दुई सय ६५ जना नेपाली विद्यार्थी अध्ययनरत रहेको र करिब चार हजार पाँच सय नेपाली अन्य विभिन्न पेसा र क्षेत्रमा कार्यरत रहेको मन्त्रालयको तथ्यांक छ । इजरायलमा हाल अध्ययन गरिरहेका दुई सय ६५ जना नेपाली विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत त्यहाँ
गएका थिए ।
यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट एक सय १९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । यीमध्ये सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ जना नेपाली दक्षिण इजरायलको किबुज अलुमिममा अध्ययनरत थिए ।
इजरायलबाट तत्काल शव ल्याउन भने कठिन देखिएको छ । इजरायली सरकारले युद्धको घोषणा गरेको अवस्थामा आक्रमणमा परी निधन भएकाहरूको शव हस्तान्तरणको कानुनी प्रक्रियाका कारण शव ल्याउन ढिलाइ हुने भएको हो । हालसम्म शवको परीक्षण हुन नसकेको र हस्तान्तरणसमेत नभएकाले विमानमा शव ल्याउन नसकिएको हो ।
परराष्ट्र मन्त्रालयले सबै मृतकको शव इजरायली सरकारको संरक्षणमा सुरक्षित रहेको र मृतकहरूको शव यथाशक्य छिटो नेपाल ल्याउने जनाएको छ । इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया समाप्त हुनेबित्तिकै उच्च प्राथमिकताका साथ शव नेपाल ल्याई सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने गरिनेछ ।