काठमाडौं । शेयर लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । आज(शुक्रबार) अख्तियारमा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेलविरुद्ध उजुरी दर्ता गरिएको हो ।
नियामक निकायका प्रमुखहरूविरुद्ध उजुरी दिनेहरूमा केशव कोइराला, हरि बहादुर केसी, उपेन्द्र राज पाठकलगायत १६ जना रहेका छन् । उजुरीमा भनिएको छ, ‘बीमा ऐन २०७९ को दफा ४५ को उपदफा १५ को प्रतिबन्धात्मक व्यवस्था विपरित अख्तियारको दुरुपयोग गरी बीमा कम्पनीहरुलाई प्रिमियममा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको हुँदा सो घटनाको छानविन गरी संलग्न दोषीहरु उपर कारबाही प्रचलित कानून बमोजिम हदैसम्म गरिपाउन यो उजुरी दिएका छौं ।’
उक्त उजुरीको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा पनि दिइएको छ । लगानीकर्ताहरूले सिटिजन लाइफ, सन नेपाल लाइफ, आईएमई लाइफ र रिलायवल लाइफसहित चार वटा बीमा कम्पनीहरूलाई अङ्कित मूल्यभन्दा बढी रकम सर्वसाधारणबाट माग गर्न दिने गरी आब्हानपत्र स्वीकृत गरी कानुन विपरीतको कार्य गरेको आरोप बोर्ड र बीमा प्राधिकरणलाई लगाएका छन् ।
त्यस्तै, हिमालयन रि–ईन्स्योरेन्सलाई अङ्कित मूल्यभन्दा बढी सर्वसाधारणबाट रकम माग गर्ने गरी आब्हानपत्र स्वीकृत गर्ने अन्तिम तयारी भइरहेकाले यसअघि भएगरेका गैरकानुनी कार्यहरू बदर गराउन र हुन लागेका गैरकानुनी कार्य रोकिपाउ भनी उनीहरूले उजुरीमा माग गरेका छन् । धितोपत्र बोर्डबाट लगानीकर्ताको हित विपरित र अपारदर्शी रुपमा मनलाग्दी साधारण शेयरको प्रिमियम मूल्य निर्धारण गरेको आरोप लगानीकर्ताले लगाएका छन् । र, घोराही सिमेन्टलगायतका प्रकरणमा नीतिगत भ्रष्टाचारसमेत भइरहेकाले सो को छानबिन गर्न माग गरेका छन् ।
