काठमाडौं, वैशाख २८
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नुुवाकोटको विदुुर नगरपालिकालाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विश्वव्यापी फैलिएको कोभिड भाइरसको रोकथाम, नियन्त्रण तथा व्यवस्थाका लागि विदुर नगरपालिका, नुवाकोटलाई आर्थिक सहयोग गरेको हो ।
कोरोना भाइरसका कारण लकडाउन भएपछि दैनिक ज्याला मजदुरी गरेर खाने तथा न्यून आय भएकाहरूलाई आवश्यक खाद्यान्न सामग्री खरिद गर्नका लागि फाइनान्सका बट्टार अनुगमन कार्यालयका प्रमुख सरोज पण्डितले विदुर नगरपालिका प्रमुख सञ्जु पण्डितलाई ५० हजारको चेक प्रदान गरिएको हो । चेक हस्तान्तरणको क्रममा प्रमुख पण्डितले फाइनान्स गतिविधिलाई र प्रशंसा गर्दै आफ्नो कारोबार नाफासँग मात्र नजोडी स्थानीयहरूसँगको सम्बन्धलाई आत्मीयतासँग जोड्न सके संस्थाले व्यावसायिक सफलता प्राप्त गर्न सक्ने बताए ।
यही सन्दर्भमा फाइनान्सले आफनो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक जिल्लामा राहत तथा आवश्यक सहयोग गरिरहेको छ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रही देशका ६१ जिल्लामा एक सय २० वटा शाखा कार्यालयमार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ । संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा आठ करोड १९ लाख ९५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा छ करोड १८ लाख ५८ हजार रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी ८५ करोड ५१ लाख ४० हजार रूपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ४५ करोड ६१ लाख ८० हजार रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १३ करोड एक लाख १५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २४ करोड १९ लाख आठ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड १३ लाख ८० हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ८० प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ९६ करोड ४२ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९९ करोड ४७ लाख ३६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १५ करोड सात लाख ६८ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।