काठमाडौं । चालु आर्थिक वर्षमा १० वटासम्म विमान खरिद गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् ।
चाडबाडका बेला भाडादरमा हुने कालोबजारी नियन्त्रण गर्न आइतबार सत्तासाझेदार दल नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ)ले आग्रहसहित बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।
उनले चाडबाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालयले सम्बन्धित निकायसँग छलफल गर्ने बताए । भाडादरमा देखिएको विसंगति हटाउनका लागि नेपाल वायुसेवा निगमको विमान थप्नु एक मात्र विकल्प रहेको उनको भनाइ छ ।
उनले दशैभरिका लागि आइतबारदेखि नेपालगन्जबाट दुर्गम क्षेत्रका निम्ति नेपाल एयरलाइन्सको विमान सञ्चालन गरिने उल्लेख गरे । उनले दसैँअघि नै औपचारिक रूपमा विमान खरिद प्रक्रिया अगाडि बढाइने पनि बताए ।
चाडबाडको मौका छोपी कमाउ धन्दामा लाग्नेहरूलाई सरकारले नियमन गर्नुपर्ने नेविसंघका सभापति दुजाङ शेर्पाले बताए । उनले नेपालकै सुर्खेत जाँदा १६ हजार तर भारत जान ११ हजार रुपैयाँ मात्र लाग्ने विषयमा निगरानी गर्न मन्त्री किरातीको ध्यानाकर्षण गराए ।