काठमाडौं । आइतबारदेखि विधिवत रुपमा सुरु भएको नवरात्रीको पहिलो दिन (घटस्थापना) काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा विधिवत रुपमा जमरा राखिएको छ ।
घटस्थापनको पहिलो दिन दसैंको अवसरमा घरघरमा जमरा राख्ने चलन छ । घटस्थापनको दिन बिहानै नजिकको नदी वा पवित्र स्थलबाट बालुवा ल्याएर गाईको गोबरले लिपपोत गरिएको पूजा कोठामा जमरा राख्ने गरिन्छ । यस दिन दसैं घरमा विधिपूर्वक दियो, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्ति माता दुर्गाको आहृवान गरी पूजा गरिन्छ ।
नवरात्रीभर देबीको दस अवतारको पूजा गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो व्रहृमचारिणी, तेस्रो चन्द्रघण्टा, चौथो कुष्माण्डा, पाँचौं स्कन्दमाता, छैटौं कात्यायनी, सातौं कालरात्री, आठौं महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजा आराधना गरेर दसौं दिन दुर्गा अवतार दुर्गा माताको पूजा गरी टिका जमराको प्रसाद लगाएर विजया दशमी मनाइन्छ ।