काठमाडौं । बैंकिङ क्षेत्रको कुल निक्षेप (रकम संकलन) ५८ खर्ब ४७ अर्ब रूपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक असोज २३ गते अद्यावधिक गरेको बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी विवरणअनुसार बैंकिङ प्रणालीमा उक्त परिमाणमा निक्षेप संकलन भएको हो ।
केन्द्रीय बैंकका अनुसार वाणिज्य बैंकहरूले मात्र संकलन गरेको निक्षेप ५१ खर्ब ६५ अर्ब रूपैयाँ छ । यस्तै, विकास बैंक र फाइनान्स कम्पनीहरूले संकलन गरेको कुल निक्षेप रकम छ खर्ब ८२ अर्ब रूपैयाँ छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह अर्थात् विभिन्न क्षेत्रमा ऋण लगानी ४९ खर्ब ५१ अर्ब रूपैयाँ छ । सोमध्ये वाणिज बैंकहरूले ४३ खर्ब ८४ अर्ब रूपैयाँ, विकास बैंक र फाइनान्स कम्पनीले पाँच खर्ब ६७ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् ।
चालू आर्थिक वर्ष सुरु भएदेखि बैंकहरूको निक्षेप लगातार बढिरहेको छ । २०८० असार मसान्तमा ५७ खर्ब ७० अर्ब रहेको बैंकहरूको निक्षेप त्यसयता करिब तीन महिनामा ७७ अर्ब रूपैयाँ बढेर ५८ खर्ब ४७ अर्ब पुगेको हो । पछिल्लो समय आन्तरिक बजारको गतिविधि न्यून भएको र ब्याजदर पनि उच्च हुँदा निक्षेप रकम बढेको देखिन्छ ।
निक्षेपको तुलनामा कर्जाको वृद्धिदर पनि बराबरजस्तै छ । २०८० असार मसान्तमा ४८ खर्ब ७९ अर्ब कर्जा प्रवाह भएकामा त्यसयता करिब तीन महिनामा ७२ अर्ब रूपैयाँ नयाँ कर्जा प्रवाह भएको देखिन्छ ।
गत असारमा निक्षेप उच्चदरमा बढेको र कर्जाको माग नभएकाले बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सहज अवस्थामा देखिएको छ । बैंकहरूको सीडी रेसियो ८१ दशमलव ८१ प्रतिशत छ । बैंकहरूबीच हुने कारोबारको दर पनि न्यून छ । अन्तरबैंक ब्याजदर एक दशमलव ९९ प्रतिशत कायम छ । यी तथ्यांकले बैंकहरू अझै तीन खर्ब हाराहारी कर्जा प्रवाह गर्नसक्ने क्षमतामा छन् भन्ने देखाउँछ ।
बैंकहरूले पाँच करोड १७ लाख ३८ हजार ३१ वटा निक्षेप खातामार्फत निक्षेप संकलन गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरूको चार करोड ४४ लाख ४१ हजार पाँच सय आठवटा, विकास बैंकहरूको ६५ लाख तीन हजार आठ सय ९६ वटा र फाइनान्स कम्पनीहरूको सात लाख ९२ हजार छ सय २७ वटा खाता छन् ।
बैंक तथा वित्तीय संस्थाले कुल १८ लाख ४८ हजार सात सय खातामार्फत कर्जा प्रवाह गरेका छन् । यसमध्ये वाणिज्य बैंकहरूको १५ लाख १७ हजार सात सय ४३, विकास बैंकहरूको दुई लाख ८९ हजार एक सय ७० र फाइनान्स कम्पनीहरूको ४१ हजार सात सय ८७ वटा खाता सञ्चालनमा छन् ।
नयाँ नोटको सटही सुविधा आजबाट
नेपाल राष्ट्र बैंकले चाडपर्वलक्षित नयाँ नोटको सटही सुविधा आज (असोज २९ गते)देखि सुरु गरेको छ । चाडपर्वको बेला नयाँ नोट सटही गर्न सजिलो होस्, भिडभाड नहोस् भन्ने उद्देश्यले सबैले आफूलाई पायक पर्ने स्थानबाट सहजै नोट सटही गर्न पाउने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले हरेक वर्ष दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी नयाँ नोटको वितरण गर्नेगरेको छ ।
राष्ट्र बैंकका अनुसार विगतमा जस्तै यसपालि पनि सबैले सहजरूपमा सजिलै नयाँ नोट सटहीको सुविधा पाउनेछन् । विगतमा राष्ट्र बैंकले सर्वसाधारणलाई प्रतिव्यक्ति पाँच, १०, २०, ५० र एक सय रूपैयाँ गरी १८ हजार पाँच सय रूपैयाँको एक सेट नयाँ नोट वितरण गर्नेछ ।
नयाँ नोट सटहीको लागि काठमाडौं उपत्यकाको हकमा नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र वाणिज्य बैंकहरूको शाखा कार्यालयबाट हुनेछ । उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको कार्यालयमध्ये पायक पर्ने स्थानमा गई सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।