सोलुखुम्ब, वैशाख २९
कोरोना भाइरस संक्रमणको आशंका गरी स्वाब परीक्षणका लागि पठाइएको सोलुखुम्बुका १३ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । आरडीटी परीक्षणमा लिखुपिके गाउँपालिकामा १ र सोताङ गाउँपालिकामा एक जनाको रिपोर्ट पोजेटिभ आएपछि उनीहरूको सम्पर्कमा आएकाहरूलाई समेत गरी १३ जनाको स्वाब संकलन गरी काठमाडौँ पठाइएको थियो । काठमाडौँमा गरिएको पीसीआर परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिए ।
उनीहरूको पीसीआर परीक्षण काठमाडौँमा रहेको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा गरिएको थियो । भोजपुरबाट जिल्लाको लिखुपिके गाउँपालिकामा आएका एक युवा र उदयपुरबाट आएकी सोताङकी युवतिमा आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरू कोरोना संक्रमित जिल्लाबाट आएको र उनीहरूमा गरिएको आरडीटी परीक्षणमा पोजेटिभ देखिएपछि स्थानीयमा त्रास बढेको थियो । सोताङ गाउँपालिकामा आरडीटी परीक्षणमा पोजेटिभ देखिएपछि छिमेकी गाउँपालिका थुलुङदूधकोशी गाउँपालिकाले नाका बन्द गरेको थियो ।
पीसीआर परीक्षणमा नगेटिभ रिर्पोट आएपछि स्थानीयमा रहेको त्रास कम भएको सोताङ गाउँपालिका प्रवक्ता मनसरी राईले बताइन् । जिल्ला ग्रिन जोनमा परिसकेको अवस्थामा रिर्पोट पोजेटिभ देखाउनाले थप संकट उत्पन्न हुने अवस्था आएको भए पनि पीसीआर परीक्षणमा नेगेटिभ देखिएपछि स्थानीयले सहज महसुस गरेको बताइएको छ । सुरुवाती चरणमा केही डराएको भए पनि रिजल्टपछि सहजता हँुदै गएको लिखुपिके गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले बताए । यात्रा गरेर आएको तथा हावापानी परिवर्तनका कारण पनि केही बढी ज्वरो देखाएको हुनसक्ने बताइएको छ ।