काठमाडौं । बीमा कम्पनीहरूको चुक्ता पुंँजी झण्डै एक खर्ब रूपैयाँ नजिक पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बिमक कम्पनीहरूबाट आर्थिक वर्ष २०७९/०८० असार मसान्तसम्ममा संकलित तथ्यांकको आधारमा तयार गरिएको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/०८० सम्ममा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा र १४ वटा निर्जीवन बीमासहितका कुल २८ वटा बीमा कम्पनीहरूले ७७ अर्ब २२ करोड रूपैयाँ चुक्ता पुँजी कायम गरेका हुन् । यो चुक्ता अघिल्लो आर्थिक वर्षको तुलनामा ११ अर्ब ५३ करोड रूपैयाँले बढी हो । प्र्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्षमा बीमा कम्पनीहरूको कुल चुक्ता पुँजी ६६ अर्ब ६९ करोड रूपैयाँ थियो ।
आर्थिक वर्ष २०७९/८० मा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले मात्र कायम गरेको कुल चुक्ता पुँजी ५२ अर्ब १६ करोड रूपैयाँ छ । यो चुक्ता पुँजी अघिल्लो आर्थिक वर्षको तुलनामा १८ दशमलव ८४ प्रतिशत अर्थात् आठ अर्ब २७ करोड रूपैयाँले बढी हो ।
अघिल्लो आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरूको कुल चुक्ता पुँजी ४३ अर्ब ८९ करोड रूपैयाँ रहेको थियो । निर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७९/८० मा २६ अर्ब छ करोड रूपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । निर्जीवन बीमा कम्पनीहरूले कायम गरेको यो चुक्ता पुँजी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ दशमलव २८ प्रतिशतले बढी हो । प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूको कुल चुक्ता पुँजी २२ अर्ब ८० करोड रूपैयाँ थियो ।
प्राधिकरणले २०७८ चैत्र १० गते बीमा कम्पनीहरूलाई न्यूनतम चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएको थियो । सोअनुसार जीवन बीमा कम्पनीहरूले न्यूनतम पाँच अर्ब र निर्जीवन बीमा कम्पनीहरूले न्यूनतम दुई अर्ब ५० करोड रूपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था तोकिएको थियो । न्यूनतम पुँजी वृद्धिको लागि प्राधिकरणले बोनस तथा हकप्रद सेयर जारी गर्नसक्ने र मर्जर तथा प्राप्ति प्रक्रियामा जान सक्नेलगायतका नीतिगत सहुलियतहरू दिएको थियो । प्राधिकरणको सोही सहुलियतका कारण पुुँजी वृद्धिको लागि बीमा कम्पनीहरूले मर्जर तथा प्राप्तिसँगै बोनस र हकप्रद सेयर समेत जारी गरेका थिए । बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गरी समग्रमा नेटवर्थ बढाई सोअनुरूप कम्पनीहरूको जोखिम वहन क्षमता बढाउन, कम्पनीहरूलाई एक–अर्कामा गाभ्न/गाभिन अनुकूल वातावरण सिर्जना भई उपयुक्त संख्यामा राख्न तथा पुँजीगत आधार बलियो बनाउन, ठूलो पुँजी भएमा सेवाको लागत कम भई बीमाको पहुँच विस्तार गर्न, ठूलो पुँजी कायम गरी कम्पनीहरूबीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पुँजीसँग सामञ्जस्यता हुनेगरी चुक्ता पुँजी कायम गर्न पुँजी वृद्धिको निर्णय गरिएको प्राधिकरणको भनाइ छ । सोही निर्णय कार्यान्यनमा आउँदा अहिले बीमा कम्पनीहरूको चुक्ता पुँजी बढेको प्राधिकरणले जानकारी दिएको छ ।
हालको समयमा धेरैवटा बीमा कम्पनीहरूले तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गरिसकेको र केही कम्पनीहरूको चुक्ता पुँजी न्यूनतम सीमाको नजिक रहेको प्र्राधिकरणले जनाएको छ । तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गर्न बाँकी रहेका बीमा कम्पनीहरूले पुँजी वृद्धिको योजना पेस गरिसकेकाले ती कम्पनीहरूले पनि छिटै नै तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गर्ने प्राधिकरणको भनाइ छ ।