काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहबाट नै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधि तयार गरेको छ । आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यलाई सरल, सहज र नागरिकको पहुँचयोग्य तुल्याउन तथा मतदाता नामावलीमा थप शुद्धता कायम गर्न स्थानीय तहबाट नै मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने प्रयोजनका लागि ‘स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ को मस्यौदा तयार पारेको हो ।
यस्तै आयोगले उक्त मस्यौदामा सुझाव दिनको लागि सरोकारवालाहरूसँग आग्रह गरेको छ । सुझाव संकलनका लागि आयोगको आफ्नो वेबसाइटमा सो मस्यौदा अपलोड गरेको जनाएको छ । उक्त मस्यौदामा कुनै स्थानीय तहले आफ्नो स्थानीय तहको केन्द्र वा वडास्तरबाट नाम दर्ता गर्न इच्छुक भई निर्वाचन कार्यालयमार्फत आयोगमा अनुरोध गरेमा स्थानीय तहको भौतिक स्रोत साधन र जनशक्तिको अवस्था हेरी आयोगले अनुमति दिने व्यवस्था गरिएको छ । यसरी अनुमति प्राप्त गरेपछि सम्बन्धित स्थानीय तहको केन्द्र वा वडास्तरमै स्थानीय तहमा कार्यरत कर्मचारीमध्येबाट नाम दर्ता अधिकारी र दर्ता कर्मचारी तोकी मतदाता नामावली दर्ता कार्य प्रारम्भ हुनेछ ।
कुनै व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणालीमार्फत फारम भरी सम्बन्धित स्थानीय तहबाट जैविक (बायोमेट्रिक) विवरण दिनका लागि आफूलाई उपयुक्त हुने मिति प्रणालीबाट छनोट गर्न सक्नेछन् । जैविक (बायोमेट्रिक) विवरण दिएपछि सम्बन्धित व्यक्तिको स्थायी ठेगानामा नाम दर्ता गरिने व्यवस्था कार्यविधिको मसौदामा रहेको छ । यसरी दर्ता भएका व्यक्तिहरूको विवरण अन्तिम मतदाता नामावली प्रकाशन हुने समयमा आयोगमा प्राप्त गरी अद्यावधिकको प्रक्रियामा लैजाने व्यवस्था रहेको छ । मस्यौदामा रहेका उक्त व्यवस्थामा अन्य विषयहरू थप परिमार्जन वा सुधार गर्न सुझाव दिन चाहनेहरूले कात्तिक मसान्तभित्र आयोगको इमेल ठेगानामा पठाउन आयोगले आग्रह गरेको छ ।
नेपालको संविधानको धारा २४७ बमोजिम निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ भन्ने व्यवस्था भएबमोजिम आयोगले सो मस्यौदा तयार गरेको हो । आयोगको यस कार्यलाई आवश्यक सहयोग र मतदाताहरूमा सेवा पु-याउने कार्यमा स्थानीय तहबाट सम्पूर्ण सहयोग उपलब्ध हुनेछ भन्ने आयोगले अपेक्षा गरेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।