काठमाडौं । सरकारले दुग्ध विकास संस्थानबाट उत्पादित दुग्धजन्य पदार्थमा सहुलियत उपलब्ध गराउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आसन्न बडादशैँ, तिहार र छठ पर्वलक्षित छुट व्यवस्थासहित बजार अनुगमन कार्यक्रम कार्ययोजना सार्वजनिक गरेको छ ।
मन्त्रालयद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा कृषिमन्त्री डा. बेदुराम भुसालले आसन्न राष्ट्रिय पर्वहरूका अवसरमा आम उपभोक्तालाई राहत पुगोस् भनी दुग्ध विकास संस्थानबाट उत्पादित दुग्धजन्य सामग्रीको मूल्यमा केही छुट दिने व्यवस्था गरिएको बताए । संस्थानबाट उत्पादित दूधमा दुई रूपैयाँ छुटसहित प्रतिलिटर ९५ रूपैयाँ, दहीमा २० रूपैयाँ छुटसहित प्रतिलिटर एक सय ७० रूपैयाँ, पनिर आधा केजीमा ५० रूपैयाँ छुटसहित चार सय ५० रूपैयाँ तथा नौनी र घ्यूउमा प्रतिकेजी एक सय रूपैयाँ छुटसहित क्रमशः एक हजार र एक हजार एक सय रूपैँयाका दरले चाडपर्वलक्षित मूल्य कायम गरिएको छ ।