काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १८ अर्ब ७० करोड रूपैयाँको ट्रेजरी बिल बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार असोज २९ गते सोमबार अपराह्न तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि यही असोज २२ गते पनि राष्ट्र बैंकले १७ अर्ब ४६ करोड रूपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिती असोज ३० गते अर्थात् आज मंगलबार तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिएका थिए । बिक्री गरिएको उक्त ट्रेजरी बिलहरूमा ९१ दिन अवधिको सात अर्ब ७० करोड, एक सय ८२ दिन अवधिको पाँच अर्ब र तीन सय ६४ दिन अवधिको छ अर्ब रूपैयाँबराबरको रहेको छ । यी ट्रेजरीहरूको परिपक्व हुने अवधि भने क्रमशः विसं २०८० माघ दुई गते, २०८१ वैशाख चार गते र २०८१ असोज २९ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बिक्री भएका सबै ट्रेजरी बिलहरू पुरानो नवीकरणअन्तर्गतका रहेका छन् ।
यसअघि अर्थात् गतसाता पनि राष्ट्र बैंकले ९१ दिन अवधिको आठ अर्ब, एक सय ८२ दिन अवधिको छ अर्ब ४६ करोड र तीन सय ६४ दिन अवधिको तीन अर्ब रूपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।