काठमाडौं । सरकारले दोस्रो चरणमा इजरायलबाट फर्किन चाहेकामध्ये १९ जनालाई उद्धार गरेको छ । इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जना नेपालीलाई सराकारले भारतीय विमानमार्फत उद्धार गरेको हो ।
यसअघि सरकारले काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाजबाट दुई सय ५४ नेपालीहरुलाई स्वदेश ल्याएको थियो । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार(आज) इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत् थप १९ नेपालीको उद्धार गरिएको जानकारी दिए । उनले भने, ‘१९ जना नेपाली नागरिक तेल अविवबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ ।’ मन्त्रालयका अनुसार स्थानीय समय अनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने छन् ।
उद्धार गरि नेपाल आउन लागेका नेपाली नागरिकहरुमा नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सरिता गुरुङ, उर्मिला श्रेष्ठ रहेका छन् ।
मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए । नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याइने छ । आज(मंगलबार) बेलुकी करिब ७ बजेसम्म नयाँ दिल्ली आइपुग्ने उनीहरुलाई कैलालीबाट जिल्ला प्रशासन कार्यलयले सम्बन्धित स्थानमा पुर्याउने तयारी गरेको छ ।