काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेलाई रथी पदमा बढुवाका लागि सिफारिस गरिएको छ । रथी सरोजप्रताप राणा अनिवार्य अवकाशका लागि बिदामा बसेपछि सैनिक मुख्यालयले उपरथी पाण्डेलाई रथी पद बढुवाका लागि सिफारिस गरेको हो ।
पाण्डे हाल सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख छन् । पाण्डे रथीमा बढुवा सिफारिस भएसँगै उनी हालका प्रधानसेनापति प्रभुराम शर्मापछि प्रधानसेनापति बन्ने लाइनमा पुगेका छन् । र, प्रधानसेनापतिको सिफारिसमा मन्त्रिपरिषद्ले उनलाई बढुवा गर्न सक्छ । उनी रथीमा बढुवा भए भावी प्रधानसेनापतिको रोलक्रममा रहनेछन् ।
नेपाली सेनाले जारी गरेको बढुवा सिफारिससम्बन्धी ७ दिने सूचनामा सैनिक सेवा नियमावली २०६९ को परिच्छेद ३ मा रहेको सरुवा तथा बढुवासम्बन्धी व्यवस्थाबमोजिम नेपाली सेनाको सैनिक साधारण सेवातर्फ रिक्त हुन आएको तीन तारे जर्नेल (रथी)मा बढुवा सिफारिसको लागि उनलाई सिफारिस गरिएको उल्लेख छ ।
सेनाको दोस्रो नम्बरमा रहेका बलाधिकृत रथी सरोज प्रताप राणा आइतबार बिदामा बसेका हुन् । सेनामा राणासँगै अर्का रथी सिताराम खड्का पनि उमेर हदका कारण आगामी पुस ३ मा अवकाशमा जाँदैछन् ।