काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले पाँच करोड रूपैयाँसम्मको कर्जालाई पुनर्तालिकीकरण गर्नसक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको नाममा परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले होटल तथा रेस्टुरेन्ट, पशुपन्छी पालन, निर्माण (सिमेन्ट, डन्डी, इँटा/ब्लक, पाइप्स एन्ड फिटिङ्सलगायतका उद्योगमा प्रवाहित कर्जा समेत), शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा तथा बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक/दैवी प्रकोपबाट प्रभावित भएका परियोजनामा लगानीमा रहेको कर्जा र पाँच करोडसम्म अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जालाई ऋणीको अनुरोधमा उद्योग/व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल उपर गरी देहायका सर्तहरूको अधीनमा रही कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सक्नेछन् ।
२०७९ चैत मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई पुनर्तालिकीकरण/पुनर्संरचना गर्न सकिने परिपत्रमा उल्लेख छ । पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका कर्जाहरूमा पाँच प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । यस्तो कर्जाहरूलाई जुन वर्गमा वर्गीकरण गरिएको छ सोही वर्गमा वर्गीकरण गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको दुई करोडसम्मको कर्जालाई सम्बन्धित ऋणीको अनुरोधमा उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी एक पटकको लागि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असुलउपर गरी देहायका सर्तहरूको अधीनमा रही कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सकिनेछ ।
पुनर्तालिकीकरण वा पुनर्संरचना गर्दा २०७९ पुस मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको हुनुपर्नेछ । सोबमोजिम पुनर्तालिकीकरण/पुनर्संरचना गरिएका कर्जाहरूलाई असल वर्गमा वर्गीकरण गरी एक दशमलव तीन प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।
परिपत्रअनुसार किस्ताबन्दीमा प्रवाह गरिएका आवधिक कर्जाको हकमा साँवाको किस्ताले भाका नाघेमा सम्पूर्ण बक्यौता कर्जा रकमलाई नै किस्ता रकमको भाका नाघेको अवधिको आधारमा वर्गीकरण गर्नुपर्नेछ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, केवलकार निर्माण परियोजना र नवीकरणीय ऊर्जा परियोजनामा प्रवाह भएका कर्जाको हकमा कुनै किस्ताले ९० दिनभन्दा बढीले भाका नाघेमा त्यस्तो किस्ताको साँवा रकमलाई खराब वर्गमा वर्गीकरण गरी किस्ताको शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।
बैंक तथा वित्तीय संस्थाले सुनचाँदीको कर्जा कारोबार गर्नुअगावै आवश्यक सुरक्षा व्यवस्था, सुरक्षणको मूल्याङ्कन व्यवस्था, ढुकुटी बीमा तथा जाँचकीसम्बन्धी व्यवस्था गरेको हुनुपर्नेछ । कुनै व्यक्तिलाई सुनचाँदी धितो कर्जा प्रवाह गर्दा त्यस्तो ऋणीले धितोस्वरूप दिएको सुन वा चाँदी जाँच गरी कर्जा सुरक्षित रहेको यकिन गरेर मात्र कर्जा प्रवाह गर्नुपर्नेछ । यसरी कर्जा प्रवाह गर्दा ऋणीले धितोस्वरूप दिएको सुन वा चाँदी एउटै थैलीमा राखिएको हुनुपर्नेछ ।
कथंकदाचित कुनै ऋणीले दिएको एकभन्दा बढी थैलीहरू वा एकभन्दा बढी थैलीहरू राखिएको एउटा थैलीमात्र धितो राखी वा सुनचाँदीको परीक्षण जाँच नगरी सुनचाँदी धितो कर्जा प्रवाह भएमा त्यस्तो कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।