मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज(बुधबार) विश्वासको मत लिने भएका छन् । आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले सभाबाट विश्वासको मत लिने भएका हुन् ।
बिहान ११ बजे सुरु हुने भनेको प्रदेशसभा बैठक दलहरूका आन्तरिक बैठक र छलफलका कारण ढिलो हुने भएको छ । एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीका अनुसार आज बिहान विराटनगरमा बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
कोशीमा गत शनिवार एमाले सांसदको बहुमत जुटाएर कांग्रेसको शेखर कोइराला समूहका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । फरक धारबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई कांग्रेस माओवादीले पनि मत दिने छन् भने राप्रपा र जसपाले नदिने जनाइएको छ । साथै, प्रदेशसभा बैठकमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले पार्टीको धारणा राख्ने जनाइएको छ ।