काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । अमेरिकी, चाईनिज र भारतीय मुद्रासहित भारतीय नागरिक ४४ वर्षीय थीन्लेटि चोडेनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट अमेरिकी डलर १६ हजार ४ सय २१, चाईनिज युआन ५४ हजार ४ सय १५ र भारतीय रुपैयाँ ५ हजार फेला पारेको छ । उनी एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका थिए ।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको चेकिङ एरियामा जाँच गर्ने क्रममा पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको प्रहरीले जनाएको छ ।