मोरङ । नेपाली कांग्रेसको कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले अब कोशीमा मुख्यमन्त्री नियुक्त गर्ने र भत्काउने खेल खत्तम भएको बताएका छन् । प्रदेशसभामा मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि कांग्रेसको तर्फबाट छलफलमा सहभागी हुँदै पूर्व मुख्यमन्त्री उद्धव थापाले कार्की मुख्यमन्त्री बनेसँगै म्युजिकल चेयरको खेल अन्त्य भएको बताएका हुन् ।
सो अवसरमा उनले कांग्रेसले कार्कीलाई र कांग्रेसका ८ जना(कोइराला समूहका)लाई पनि आफूहरुले गला मिलाएको बताए । मुख्यमन्त्री केदार कार्की र उनलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरुसँग गला मिलाएको भन्दै नेता थापाले आफ्ना साथीले युद्ध जितेर आएकाले गला मिलाएको बताए । उनले भने, ‘नेपाली कांग्रेसबाट ८ भाइ माननीयहरु, दलभित्र झगडा गर्नुभयो, कुण्ठा बोकेर हिँड्नुभयो, संघर्ष गर्नुभयो, अन्तिममा युद्धको मैदानमा पनि पुग्नुभयो, युद्ध पनि जितेर घरमा आउनुभयो, युद्ध जितेर फुलमाला लगाएर आएपछि हामीले गले लगायौं, स्वागत गर्यौ ।’ कांग्रेसका ८ जना र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।
गठबन्धनले पनि मुख्यमन्त्रीलाई समर्थन गरेको बताउँदै थापाले एमालेले किन गठबन्धनको उम्मेदवारलाई मान्ने भन्ने अवस्था आउन सक्ने आशंका गर्दै सम्भावित मध्यावधिलाई रोक्नुपर्ने र जनताले पर्खेर बसेको विकास निर्माणमा अबको सरकार लागिपर्नु पर्नेमा जोड दिए ।