जोमसोम (मुस्ताङ) । नेकपा (माओवादी केन्द्र) मुस्ताङ शाखाले बुधबार जोमसोममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुने बताएका छन् ।
हालै चीन भ्रमणका क्रममा १४ वटा व्यापारिक नाका नियमित सञ्चालन गर्ने समझदारी भएको उनले जानकारी गराए । “मुस्ताङको कोरलालगायत नाकाको सिमा क्षेत्रका बासिन्दालाई प्रवेशपत्रको आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने समझदारी भएको छ,” उनले भने “कोरला नाकाको नेपालतर्फ भौतिक पूर्वाधार निर्माणमा चीनले सघाउने मेरो भ्रमणका क्रममा सहमति भएको थियो ।”
कोरला नाका जोड्ने कालीगण्डकी कोरिडोर सडक स्तरोन्नतिलाई पूर्णता दिन सरकारले प्राथमिकता दिएको बताउँदै प्रधानमन्त्री दाहालले नेपालको प्रमुख चुनौतीका रूपमा रहेको भ्रष्ट्राचारविरुद्ध सरकारले थालेको शुसासनको अभियान नरोकिने बताए । गठबन्धनले पाँचै वर्ष सरकार चलाउने बताउँदै उनले सत्ता बाहिर रहँदा केही नेताहरुलाई छटपटी भएकोसमेत टिप्पणी गरे ।
कार्यकर्ता भेलाअघि प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आजै जोमसोममा आयोजना गरेको ‘सरोकारवालासँग जलवायु संवाद’ कार्यक्रममा पनि सहभागी भए ।