काठमाडौं । प्रेस युनियनले बिहीबार आयोजना गरेको चियापान कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी चुनावमा नेपाली कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने बताएका छन् ।
उनले ०८४ सालको चुनावमा आफूहरु गठबन्धनमा नजाने बताए । उनले यदि कसैले गठबन्धन गरेर जान्छु भन्यो भने त्यसबेला नेपाली कांग्रेस पार्टी एक नरहने बताए । नेपालको सन्दर्भमा निर्वाचन अगाडि गरिने गठबन्धनले लोकतान्त्रिक संस्कृतिकलाई विकृत बनाउने थापाको भनाइ छ ।
तल वडादेखि माथिसम्म सरकारै सरकारमा बसेको कांग्रेसमा निराशा रहेको बताउँदै उनले अर्को चुनाव आउन चार वर्ष बाँकी रहँदा पनि चुनाव हारिन्छ कि भनेर पार्टीमा रुवाबासी भइरहेको बताए । सरकारमा जाने र बस्ने कुरा किन यति महत्वपूर्ण भइरहेको छ ? उनले यसका बारेमा पार्टीमा गहिरो छलफल गर्नुपर्ने बताए ।