काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ । बोर्ड सञ्चालक समितिको बुधबार बसेको बैठकले विद्यमान ब्रोकर कमिसनलाई १० प्रतिशतले घटाउने निर्णय गरेको छ ।
बोर्डका अनुसार सेयर कारोबारमा हाल कायम रहेको अधिकतम शून्य दशमलव ४० प्रतिशतको माथिल्लो सीमालाई घटाएर शून्य दशमलव ३६ प्रतिशत कायम गर्ने निर्णय भएको छ । यसैगरी हाल शून्य दशमलव २७ प्रतिशतमा सीमित रहेको तल्लो सीमालाई घटाएर शून्य दशमलव २४ प्रतिशत कायम गर्ने निर्णय भएको जानकारी पनि बोर्डले दिएको छ । अहिले सेयर कारोबार गर्दा ५० हजार रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ४० प्रतिशत, ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३७ प्रतिशत, पाँच लाखदेखि २० लाखसम्मको कारोबारमा शून्य दशमलव ३४ प्रतिशत कमिसन शून्य लिन पाउने व्यवस्था छ । यसैगरी २० लाखदेखि एक करोड रूपैयाँसम्ममा शून्य दशमलव ३० प्रतिशत र एक करोडमाथि शून्य दशमलव २७ प्रतिशतसम्म कमिसन लिन पाउने व्यवस्था छ ।
बोर्डको पछिल्लो निर्णयअनुसार भने आज ५० हजारसम्मको कारोबारमा लगानीकर्ताले शून्य दशमलव ३६ प्रतिशत, ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा शून्य दशमलव ३३ प्रतिशत, पाँच लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत, २० लाखदेखि एक करोड रूपैयाँसम्मको कारोबारमा शून्य दशमलव २७ प्रतिशत र एक करोडदेखि माथि शून्य दशमलव २४ प्रतिशत मात्र कमिसन लिन पाइनेछ । बोर्डको बुधबार बसेको सञ्चालक समितिको बैठकले बोर्ड स्वयमले धितोपत्र कारोबारमार्फत पाउने कमिसन दर पनि १० प्रतिशतले घटाएको छ । बोर्डले हाल ब्रोकरले दिएको सेवाशुल्कमा शून्य दशमलव छ प्रतिशत नियमन शुल्कबापत ब्रोकर कम्पनीबाट प्राप्त गर्दै आएकोमा अब भने ब्रोकरले शून्य दशमलव ५४ प्रतिशत मात्र कमिसन शुल्क लिन पाउनेछ । यसैगरी बोर्डले धितोपत्र कारोबारबापत नेपाल स्टक एक्सेन्जले प्राप्त गर्ने कमिसन दर पनि घटाएको छ । बोर्डका अनुसार नेप्सेको हाल कायम रहेको कमिसन शुल्कलाई सात प्रतिशतका दरले घटाइएको हो । हाल लगानीकर्ताले गर्ने कारोबार रकमको आधारमा नेप्सेले शून्य दशमलव शून्य १५ प्रतिशत कमिसन लिनेगरेकोमा अब भने नेप्सेले शून्य दशमलव शून्य १४ प्रतिशत मात्र कमिसन लिन पाउनेछ ।
कमिसन दर घटाउने बोर्डको यो निर्णय अर्थ मन्त्रालयको स्वीकृतिपछि मात्र कार्यान्वयनमा आउने बोर्डको भनाइ छ । कमिसन घटाउने विषयमा बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा बनेको अध्ययन समितिले ब्रोकर कमिसन १० प्रतिशत बिन्दुले घटाउने प्रस्ताव गरेको थियो । सोही प्रस्तावलाई निर्णयार्थ कार्यान्वयनमा ल्याउनको लागि बोर्डको बुधबार बसेको सञ्चालक समितिको बैठकले कमिसन दर घटाउने निर्णय गरेको हो ।