काठमाडौं । तनहुँ जिल्ला बन्दीपुर–१, डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लि.ले दालमोठ बनाउने तालिम दिएको छ । संस्थाले आफ्ना ३० जना ग्राहक सदस्यहरूको सहभागितामा यही असोज २५ गते रौतहट जिल्लाको चन्द्रनिगाहपुर नगरपालिका–८, सन्तपुरमा “दालमोठ, भुजिया, पापड बनाउने तालिम” सम्पन्न गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले जानकारी दिए । तालिमको प्रशिक्षकमा अनिताकुमारी दनुवार, रोहितकुमार श्रेष्ठ, राधेकृष्ण दत्त रहेका थिए ।
दालमोठ, भुजिया, पापड बनाउने विधिका बारेमा, संस्थाका सेवाहरूको बारेमा साथै वित्तीय साक्षरतासम्बन्धी विषयमा तालिममा सहभागीहरूले जानकारी हासिल गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए । संस्थाले २०७४ सालदेखि निरन्तर लघुवित्त सेवा प्रदान गर्दै आएको छ । यस संस्थाबाट कर्जा लिई व्यवसाय गरी धेरै घर–परिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि जानकारी गराएका थिए ।
संस्थाले ७ प्रदेश, ४३ जिल्लाहरूमा ९० शाखा कार्यालयहरू, ६ मुकाम कार्यालय, सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय गरी ९८ कार्यालयहरूको सञ्जालहरूमार्फत् संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब एवं विपन्न परिवारका महिलाहरूलाई समूहमा आबद्ध गराई बिना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरूको आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आइरहेको छ । यस संस्थाले देशको ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई शाखाहरू स्थापना गरी ग्राहक सदस्यहरुलाई आवश्यकतानुसार लगानी गर्दै आइरहेको छ । संस्थाले हालसम्ममा ७५ हजार नौ सय ८६ घरपरिवारहरूमा सेवा विस्तार गरेको छ । संस्थाले २०८० हालसम्ममा लगानीमा रहेको कर्जा तीन अर्ब ८३ करोड रहेको छ भने ग्राहक सदस्यहरूको एक अर्ब १४ करोड बचत परिचालन गरेको छ ।
तालिम कार्यक्रममा सहभागीहरूमध्ये संगीताकुमारी चौधरी, अन्जुकुमारी चौधरी र ललिता देवीले तालिमको मूल्याकंन सहित मन्तव्य राखेका थिए । व्यावसायिक रूपमा दालमोठ उत्पादन गरेमा दालमोठ, भुजियाबाट मनग्य फाइदा लिन सकिने रहेछ । व्यावसायिक रूपमा दालमोठ उत्पादन गर्नमा यस तालिम फलदायी हुने सहभागीहरूले बताएका थिए । सहभागीहरूले तालिममा सिकेका ज्ञान, सीप व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका थिए । संस्थाले ग्राहक सदस्यहरूलाई वित्तीय सेवाहरूका साथसाथै ग्राहक सदस्यहरूको क्षमता अभिवृद्धि गराउन तथा व्यावसायिक रूपमा व्यवसाय सञ्चालन गर्न सघाउ पु¥याउन विभिन्न किसिमका सीप विकास तालिम सञ्चालन गरी रहेको छ । तालिमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत पौडेलले गरेका थिए ।
संस्थाले यस आर्थिक वर्षमा संस्थाका आफ्ना ग्राहक सदस्यहरूलाई विभिन्न किसिमका सीप विकास तालिमहरू सञ्चालन गर्दैं जाने लक्ष्य रहेको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिए । तालिमको पहिलो सत्रमा संस्थाका नायब महाप्रबन्धक पवनकुमार श्रेष्ठले सहभागीहरूलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए । संस्थाका योजना तथा रिसर्च विभागका विभागीय प्रमुख सूर्यबहादुर बस्नेतले मन्तव्यका क्रममा वर्तमान माहौलमा नकारात्मक कुराहरू, नकारात्मक भ्रमहरूका पछि नलागेर कर्जा लिएर कर्जाको अधिकतम सदुपयोग गरी आफ्नो तथा परिवारको उन्नति गर्न हौसला दिएका थिए । तालिमको अन्त्यमा तालिममा सहभागीहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । तालिमको सञ्चालन रौतहट जिल्लास्थित सन्तपुर शाखाका कनिष्ठ सहायक श्री श्रवणकुमार झाले गरेका थिए ।