झापा । विदेशी सुपारीका कारण स्वदेशी सुपारीले उचित मूल्य नपाएको कोशी प्रदेशका किसानले सरकारसँग गुनासो गरेका छन् ।
बिहीबार पत्रकार सम्मेलनमार्फत झापा, इलाम, मोरङ, उदयपुर र सुनसरी जिल्लाका सुपारी किसानले सरकारले निर्यातलाई भन्दा आयातलाई प्राथमिकतामा राखेकाले स्वदेशी सुपारीले उचित मूल्य नपाएको जानकारी गराएका हुन् ।
किसानले उत्पादन गरेको सुपारी सोझै तेस्रोमूलुक निर्यात गर्न पाउनुपर्ने नेपाल सुपारी खेती किसान पहल समितिका संयोजक गीताप्रसाद अधिकारीले बताए । उनले नेपालमा सुपारी खेतीको विस्तारमा सरकारले चासो देखाए पनि निर्यातलाई सहज नबनाउँदा किसान समस्यामा परेको बताए ।
उनले सुपारी किसानले कृषि विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल गर्दै आफ्ना माग पटकपटक राखिसकेको जानकारी दिए । “काँचो सुपारी सोझै तेस्रो मूलुक निर्यात गर्न हामीले सहजै पाउनुपर्छ”, अधिकारीले भने, “हाम्रो मागलाई बेवास्ता गरेमा दश लाख बढी सुपारी किसान एकैपटक आन्दोलनमा उत्रिन्छौँ ।”
विगत ३० वर्षदेखि अर्जुनधारा नगरपालिकामा सुपारी व्यवसाय गर्दै आएका सरेन्द्र साहले विलौचियामार्फत स्थानीय स्तारमा उत्पादित राम्रो सुपारी भारत जाने र भारतको नराम्रो, कुहिएको सुपारी उनीहरुमार्फत नेपाल आउँदासम्म पनि सरकारले बेवास्ता गरेको गुनासो गरे । सुपारी किसानको नाममा विभिन्न संस्था खोलेर विचौलिया हाबी हुँदा किसान मर्कामा परेको उनको भनाइ थियो ।