काठमाडौं । बैैंकिङ क्षेत्रको कुल निक्षेपमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आर्थिक वर्षको पछिल्लो दुई महिनाको प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप शून्य दशमलव एक प्रतिशत अर्थात् सात अर्ब पाँच करोड रूपैयाँ घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप शून्य दशमलव नौ अर्थात् ४३ अर्ब ६६ करोड रूपैयाँले घटेको थियो ।
राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०८० भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३ दशमलव दुई प्रतिशतले बढेको छ । २०८० भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः छ दशमलव दुई प्रतिशत, २५ दशमलव नौ प्रतिशत र ६१ दशमलव दुई प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः सात दशमलव सात प्रतिशत, २६ दशमलव पाँच प्रतिशत र ५८ दशमलव आठ प्रतिशत रहेको थियो । २०८० भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६ दशमलव एक प्रतिशत रहेको छ । २०७९ भदौ मसान्तमा यस्तो निक्षेपको अंश ३७ दशमलव दुई प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा भने शून्य दशमलव सात प्रतिशत अर्थात् ३३ अर्ब ६० करोड रूपैयाँले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा शून्य दशमलव पाँच प्रतिशत अर्थात् २४ अर्ब १३ करोड रूपैयाँले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८० भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा चार प्रतिशतले बढेको छ । २०८० भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमलव आठ प्रतिशत र ३६ दशमलव दुई प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह शून्य दशमलव आठ प्रतिशतले, विकास बैंकहरूको शून्य दशमलव एक प्रतिशतले र फाइनान्स कम्पनीहरूको कर्जा प्रवाह शून्य दशमलव तीन प्रतिशतले बढेको छ । २०८० भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये १२ दशमलव एक प्रतिशत कर्जाको लागि चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तु सुरक्षणको रूपमा रहेको छ भने ६७ दशमलव दुई प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०७९ भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२ दशमलव पाँच प्रतिशत र ६६ दशमलव छ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा तीन दशमलव दुई प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा एक दशमलव छ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा एक दशमलव नौ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा शून्य दशमलव चार प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा एक दशमलव चार प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा एक दशमलव पाँच प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा एक दशमलव दुई प्रतिशतले घटेको छ । चालू आवको पछिल्लो दुई महिनामा बैंक तथा फाइनान्स कम्पनीहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा चार दशमलव सात प्रतिशतले, नगद प्रवाह कर्जा ११ दशमलव चार प्रतिशतले, ट्रस्ट रिसिट अर्थात् आयात कर्जा १२ दशमलव सात प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) एक दशमलव पाँच प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा एक दशमलव आठ प्रतिशतले बढेको छ । यस अवधिमा अधिविकर्ष कर्जा ३९ दशमलव एक प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनर्वर्गीकरणको कारण समेत) र हायर पर्चेज कर्जा १७ दशमलव तीन प्रतिशतले घटेको राष्ट्र बैंकको भनाइ छ ।