काठमाडौं । नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २६०जनागरी साढे तीन सय भन्दा बढी संख्यामा भर्ना खुलेको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालय नक्शालले निकालेको सूचना अनुसार दरखास्त फारम दर्ता मिति कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म तोकिएको छ । प्रहरी सहायक निरीक्षक पदको हकमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र र प्रहरी निरीक्षक पदको हकमा अनलाइनमार्फत् दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
प्रहरी निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारको शैक्षिक योग्यता स्नातक उत्तीर्ण हुनुपर्ने र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारको शैक्षिक योग्यता प्रमाणपत्र वा सो सरह उत्तीर्ण हुनुपर्ने गरी तोकिएको छ । प्रहरी निरीक्षक पदका लागि १ हजार २ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने छ भने प्रहरी सहायक निरीक्षक पदमा ५०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ ।
प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको र प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ ।