चीन । चीन भ्रमणको क्रममा हृदयाघात भएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले गृहमन्त्रीलाई अहिले आइसीयूबाट जनरल वार्डमा सारिएको जानकारी दिएका छन् । बुधबार गृहमन्त्री श्रेष्ठ बिरामी परेपछि बिहीबारको भेटघाट सबै स्थगित गरिएको राजदूत श्रेष्ठले बताए ।
गृहमन्त्री श्रेष्ठ राजधानी बेइजिङमा भएको तेस्रो बेल्ट एण्ड रोड इनिसियटिभको सम्मेलनमा सहभागी हुन चीन आएका थिए । बुधबार अचानक बिरामी परेपछि उनलाई इन्टरनेशल मेडिकल अस्पतालमा भर्ना गरिएको थियो । श्रेष्ठको शल्यक्रिया सफल भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाएको थियो ।
दूतावासले मन्त्री श्रेष्ठको शुक्रबार नेपाल फर्किने तालिका भए पनि अब चिकित्सकको सल्लाहअनुसार नै उनको नेपाल फर्किने तालिका तय हुने जनाएको छ ।