काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लि.ले आफ्ना ग्राहकहरूको मोबाइल बैंकिङ अनुभव अभिवृद्धि गराउने र वास्तविक डिजिटल बैंकिङको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमा नयाँ सुविधाहरू थप गरेको छ । डिजिटल बैंकिङलाई सधैं प्राथमिकतामा राख्दै आएको यस बैंकले हाल मोबाइल बैंकिङ एपमार्फत् नियमित प्रदान गर्दै आईरहेको सेवाहरूको अतिरिक्त अन्य उपयोगी सेवाहरू समेत थप गरेको छ । अब ग्राहकहरूले मोबाइल बंैकिङ एपमार्फत् नै मुद्दती खाता खोल्ने, चेक रोक्का गर्ने, डेबिट कार्ड प्राप्त गर्न निवेदन दिने, कार्ड ब्लक गर्ने, पिन रिसेट गर्ने, क्रेडिट कार्डको सिमा हेर्ने जस्ता सुविधाहरू थप गरेको छ ।
बैंकले आफ्ना विशेष ग्राहकहरूलाई लक्षित गरी मोबाइलमार्फत् नै प्रिभिलेज बैंकिङ सेवा समेत सुरु गरेको छ । यसअघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरूमार्फत् प्रिभिलेज बैंकिङ सेवा प्रदान गर्दै आईरहेकोमा अब मोबाइल बैंकिङ एपमार्फत् नै प्रिभिलेज सेवाहरू प्रदान गर्नेछ । यस सेवा अन्तर्गत ग्राहकहरूले बैंकका तोकिएका सम्पर्क अधिकृतहरूमार्फत् बिना झन्झट बैंकिङ सेवा प्राप्त गर्न सक्ने व्यवस्था छ । सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपलाई नयाँ प्रयोगकर्ता इन्टरफेसमा अपग्रेड गरिएको छ, जसले प्रयोग कर्ताको अनुभव बढाउँछ । लगइन मेनु पनि पुनर्संगठित गरिएको छ, जहाँ स्मार्ट सेवाहरू, स्मार्ट प्रस्तावहरू, ईएमआई क्याल्कुलेटर र विदेशी मुद्रा आइकन छुट्टै ब्लक डिजाइनमा राखिएको छ । लागु गरिएको नयाँ डिजाइन प्रयोगकर्ता मैत्री बनाइएको छ र साथै नेपाल पे को क्यूआरमार्फत् व्यापारीहरूलाई क्यूआर स्क्यान गरी भुक्तानी गर्ने सुविधाहरूजस्ता विभिन्न नयाँ सुविधाहरू ल्याएको छ ।
बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ८८ वटा शाखा, एक सय ४८ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ इकाइहरूबाट १६ लाख ६४ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।