काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सवका अवसरमा प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणा देउवाले नेपालको जैविक विविधता मात्र नभइ कुल गार्हस्थ उत्पादन (जिडिपी)मा पनि जलवायु परिवर्तनको गम्भीर असर पर्ने देखिएको बताएकी छिन् ।
सभापति डा. राणाले शुक्रबार आयोजित समारोहलाई सम्बोधन गर्दै जलवायु परिवर्तनले नेपालका विविध क्षेत्रमा असर गरेको र नेपालको प्रकृति र जैविक विविधताका क्षेत्रमा यसको प्रत्यक्ष असर देखिएको बताएकी हुन् ।
नेपालको वन वनस्पती, कृषि, प्रकृति, हिमाललगायतका क्षेत्रमा देखिएको जलवायु परिवर्तनको असरको प्रभाव मुलुकको अर्थ व्यवस्थामा पनि पर्ने देखिएको भन्दै डा. राणाले एसियाली विकास बैंकले समेत गरेको एक अध्ययनले देशको कुल गार्हस्थ उत्पादन दुई दशमलव दुई प्रतिशतले घट्ने प्रक्षेपण गरेको दृष्टान्त प्रस्तुत गरिन् । उनले वन, जमिन, पानी र वायुका क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।