काठमाडौँ । कार्यकारी अध्यक्ष बद्री केसीको हर्कतका कारण गैरआवासीय नेपाली संघ (एनआरएनए) गम्भीर समस्यामा फसेको छ । एनआरएनकर्मीलाई राजनीतिक पार्टीहरुले संरक्षण गर्ने, एनआरएनएकर्मीहरु पनि राजनीतिक दलहरुको ढोका चाहार्दै आशिर्वाद थाप्न मरिहत्ते गर्ने र उनीहरुकै निर्देशनअनुसारको गतिविधि हुँदा सामाजिक उद्देश्यका साथ स्थापित संघमा पछिल्लो वर्ष राजनीतिक गतिविधि ह्वात्तै बढेको बताइन्छ । त्यसमाथि चुनावी प्रक्रियामा सहभागी भएपनि एनआरएनएमा लोकतान्त्रिक प्रक्रियाको अक्षरंश पालना हुन नसक्दा बबण्डरको अवस्था मात्रै सिर्जना भएको छैन, संस्था फुटतिर जानसक्ने कतिपयले टिप्पणी गर्न थालेका छन् । पछिल्ला वर्षमा एनआरएनएको चुनावहरुमा निरन्तर विवाद हुने गरेको छ । नवौँ महाधिवेशन होटल हायातमा हुँदा एनआरएनएहरु तोडफोडमै उत्रिएका थिए । त्यतिबेला कोटपाइन्टमा ठाँटिएर रवाफका साथ काठमाडौँमा उत्रिएका एनआरएनएहरुको हर्कतको चर्को आलोचना भएको थियो । १० औँ महाविधेशनमा पनि तीव्र राजनीति हुँदा एनआरएनएको महाधिवेशन तोकिएको समयभन्दा ६ महिना ढिलो हुन पुग्यो । तत्कालीन सत्तारुढ दल (कांग्रेस–माओवादी) ले एनआरएनएमा एमालेलाई एक्ल्याउने रणनीतिअनुसार चुनावमा समस्या खडा गरिदिएको थियो । डेलिगेट्स (मतदाता) चयनमा विभिन्न देशमा धाँधली भएको आरोप लगाउँदै अध्यक्षका तत्कालीन दाबेदार कुल आचार्यको योजनामा शनिकुमार ओलीलगायतले परराष्ट्र मन्त्रालयमा उजुरी दिएका थिए । कांग्रेस, त्यसमा पनि कुल आचार्यलाई नेतृत्वमा ल्याउने रणनीतिअनुसार सो उजुरीलाई टेकेर परराष्ट्रले समयमा निर्वाचन हुन दिएन । निर्वाचन नै नहुने र संस्था नै दुई भागमा विभाजित हुने निश्चित बनेपछि भने अन्तिम समयमा तीन जना अध्यक्ष (बद्री केसी, कुल आचार्य र रविना थापा) बनाउने भनेर सहमति गरियो । तीन जना अध्यक्ष बनाइएको संस्थामा पदाधिकारी त सयौँ बनाइएको थियो । तर, त्यही सहमतिपछि पनि एनआरएनए एकताबद्ध हुन सकेन । पूर्वअध्यक्ष शेष घलेको चाहनामा एनआरएनए विभाजित भयो । त्यतिबेला कुल आचार्य एकतातिरै लागेपछि घलेले बिनोद कुँवरको नेतृत्वमा बनाएको एनआरएनएले अहिले पनि समानान्तर गतिविधि गर्दै आएको छ । मूलतः एनआरएनएभित्र राजनीति सँगसँगै जबरजस्त एउटा समूह पनि छ । त्यही समूहले एनआरएनएलाई आफ्नो केन्द्रमा बनाउँदै आएको छ । जुन समूहमा एमाले निकटको सिंगो टीमका साथसाथै कांग्रेस पृष्ठभूमिका केही व्यक्तिहरु पनि छन् । अघिल्लो निर्वाचनसम्म पूर्वअध्यक्ष जीवा लामिछानेसम्मको गठजोड रहेको भनिएको सो समूहबाट भवन भट्ट, कुमार पन्तदेखि बद्री केसीसम्म नेतृत्वमा आएका छन् । काठमाडौँमा भएको ११ औँ विश्व सम्मेलन महाधिवेशनमा लामिछाने सो समूहमा नरहेको बताइएपनि समूहका अन्य सदस्य भने यथावत् छन् । त्यही समूहबाट गएराति वर्तमान कार्यकालका कार्यकारी अध्यक्ष रहेका बद्री केसी फेरि दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएसँगै एनआरएनए संकटको भूमरीमा फसेको विश्लेषण गरिएको छ । संकटको भूमरीमा यसअर्थमा कि अध्यक्षका दाबेदार आरके शर्मा र महेश श्रेष्ठले चुनावी नतिजा नमान्ने घोषणा गरेका छन् । बुधबार मध्यरातिदेखि बिहीबार राति ११ बजेर ५९ मिनेटसम्म विश्वभर अनलाइन र काठमाडौँको होटल सोल्टीमा भौतिक उपस्थितिमा मतदान सम्पन्न भएर मतपरिणाम घोषणा हुँदा अप्रत्यासित रुपमा दुबै उम्मेदवारले मतपरिणाम अस्वीकार गरेका हुन् । जसले एनआरएनएमा व्यवहारिक रुपमा लोकतान्त्रिक अभ्यासको अभाव देखिएको छ । भेरो नामक अनलाइन भोटिङ सिस्टममार्फत भएको सो निर्वाचनमा धाँधली भएको दुबै उम्मेदवारको दाबी छ । छुट्टाछुट्टै चुनाव लडेपनि नतिजासँगै एकजुट भएका उनीहरुले बद्री केसीले सिस्टम ह्याक गरेर नतिजा आफ्नो पक्षमा पारेको आरोप लगाएका छन् । उपाध्यक्षका उम्मेदवार डा केशव पौडेलको होटल सोल्टीमा भएको मतदानमा शून्य मत कसरी आयो भन्दै उनीहरुले प्रश्न उठाएका छन् भने अन्य उम्मेदवारको पनि मतपरिणाम अप्रत्यासित देखिएकाले पुनः मतदान हुनपर्नेसम्मको माग गरेका छन् । मध्यरातमा मनपरिणाम घोषणा हुनुअघिसम्म सामान्य अवस्थामा रहेको होटल सोल्टी परिसर नतिजा घोषणासँगै तनावपूर्ण रह्यो । जुन तनाव अझै जारी रहेको छ । होटल परिसरमा भेला भएका शर्मा र श्रेष्ठ पक्षका एनआरएनएहरुले बद्री केसीविरुद्ध नाराबाजी गर्दै हुटिङ गरेका थिए । उनीहरुले निर्वाचन गोलमाल गरेकै कारणले बद्रीले चुनाव जितेको र भेरोमा समेत उनको लगानी रहेको गम्भीर आरोप लगाएका छन् । सोही आधारमा सिस्टम आफ्नो नियन्त्रणमा लिएर केसीले आफू अनुकुल नतिजा सार्वजनिक गरेको शर्मा र श्रेष्ठ पक्षको भनाइ छ । नतिजा भरपर्दो नआएको भन्दै शर्मा र श्रेष्ठको पक्षबाट निर्वाचित भएको घोषणा भएका केही उम्मेदवारले समेत खुसीयाली मनाएका छैनन् । उनीहरुले पहिला आफूहरु आस्वस्त हुनुपर्ने माग राखेका छन् । एनआरएनएहरुको होहल्ला र नाराबाजीकै बीच समर्थक माझ उपस्थित भएका आरके शर्माले विश्वभरका गैरआवासीय नेपालीहरुको साझा संस्थामा धाँधली भएको प्रष्टै देखिएको बताए । निर्वाचन समिति र कार्यकारी अध्यक्षले नांगो नाच प्रस्तुत गरेको आरोप लगाउँदै उनले कानुनी उपचारका साथै र नेपाल सरकारको सबै निकायमा संस्था बचाउनका लागि जाने बताए । यसैगरी महेश श्रेष्ठले निर्वाचनमा धाँधली भएको प्रष्टै देखिएकाले निर्वाचन रद्द हुनुपर्ने माग गरे । ‘यो निर्वाचन रद्द हुनुपर्छ, त्यति मात्र हैन यसमाथि गम्भीर छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्छ’, उनले भने । यसैगरी एनआरएनएका वर्तमान कार्यकालका प्रवक्ता तथा नयाँ निर्वाचनबाट उपमहासचिवमा निर्वाचित भएका सोम सापकोटाले चुनावमा आफू विजयी भएपनि मतपरिणाम अस्वीकार गरेको बताए । ‘निर्वाचन परिणाम जुन हामीले देख्यौँ त्यो अत्यन्तै अस्वाभाविक देखिन्छ’, उनले भने, ‘एक जना उम्मेदवारको शून्य मत भएको देखाइएको छ । जबकि काठमाडौँमा ७९६ जना प्रतिनिधिले भोट हालेको र सयौँ मान्छेले भोट गरेको स्क्रिम सेयर सेयर गर्दा पनि शून्य देखाइएपछि यो परिणाम मिलाएर र सेटिङ गरेर घोषणा गरेको पुष्टि हुन्छ ।’ शर्मा र श्रेष्ठ टीमबाट केही उम्मेदवार विजयी भएको देखाइएको तर भेरोले दिएको मतपरिणामलाई नै तलमाथि गर्ने काम भएको उनको आरोप छ । निर्वाचनमा सुनियोजित गरिकाले सेटिङ भएको आफूहरुको बुझाइ रहेकाले यो मतपरिणाम अस्वीकार गर्ने उनको भनाइ छ । निर्वाचन समितिले बद्री केसीलाई विजयी भएको घोषणा गर्दा उनको पक्षमा १३७८, आरके शर्माको पक्षमा १२८१ र महेश श्रेष्ठको पक्षमा १२२५ मत देखाइएको छ । तीनै उम्मेदवार आफ्नो प्यानलसहित मैदानमा खडा भएका थिए । एमालेको केसी, महेशलाई कांग्रेस र शर्मालाई माओवादीको साथ रहेको थियो भने चुनावमा उम्मेदवारहरुले करोडौँ खर्च गरेको बताइएको छ । एनआरएनए दोस्रो पटक फुट्ला कि सम्हालिएला ? २० वर्षे इतिहास बोकेको एनआरएनए अब के होला भन्ने चसो पनि बढेको छ । चुनावमा धाँधली भएको जिकिर गरेका श्रेष्ठ र शर्मा यतिबेला एक हुँदै आन्तरिक रणनीति बनाउन जुटिसकेका छन् । उनीहरुले चाल्ने कदममा एनआरएनएको भविष्य निर्धारण हुने अभियन्ताहरुको भनाइ छ । धनीहरुको क्लब समेत भनेर टिप्पणी हुने एनआएनएमा शक्ति, पैसा र राजनीति सबै चल्ने भएकाले सबैलाई मिलाएर अघि बढ्न केसी पक्षले पहलकदमी लिनुपर्ने उनीहरुको भनाइ छ । अहिले देखिएको दुरी कम गर्न पहल नगरी थप बढाउँदै गए फेरि एनआरएनएलाई फुट्नबाट कसैले रोक्न नसक्ने उनीहरुको भनाइ छ । यो दुरी कम गर्न वर्तमान कार्यसमितिको पनि उत्तिकै भूमिका हुने कोषाध्यक्ष सुनिल साहले बताए । उनले यसबारे छलफल हुने र उठेका प्रश्नहरुको समाधान खोजिने बताए । भेरो विश्वसनीय भेटिङ सिस्टम हो, धाँधली भएको छैनः शर्मा यता केसी पक्ष भने चुनाव निष्पक्ष भएकाले धाँधलीको प्रश्न नै नरहेको बताउँछ । केसीको टीमबाट उपाध्यक्षमा विजयी भएका डा हेमराज शर्माले भेरो विश्वसनीय भेटिङ सिस्टम भएकाले यसले दिएको नतिजामा आशंका गर्न नपर्ने बताउँछन् । उनले चुनावमा धाँधली भएको भनेर प्रमाणित गर्न पनि चुनाती दिए । ‘यसअघि सबैको सहमतिमा यो सिस्टम एनआरएनएले भित्र्याएको हो’, उनले भने, ‘अहिले भेरो बद्री केसीको भनेर लगाइएको आरोप मिथ्यामात्रै हो, यदि त्यस्तो नै हो भनेर कसैले प्रमाणित गर्न सक्छ भने गर्दा हुन्छ ।’ गैरआवासीय नेपालीले चाहेको साँचो टीम चुनावबाट आएको भन्दै उनले यसलाई स्वीकारेर अघि बढ्नुको विकल्प नभएको बताए । यद्यपि असन्तुष्ट उम्मेदवारहरुसँग छलफल गरेर हाल देखिएका असमझदारीहरुलाओ अन्त्य गर्न आफुहरुको पहल हुने उनको भनाइ छ। मतपरिमाण विवादपछि निवाृचन कमिटिका पदाधिकारीहरु सम्पर्कमा आउन चाहेका छैनन् भन्ने प्रश्न उठेका विषयमा कुनै जवाफ पनि दिएका छैनन् । यसैबिच शुक्रवार विवादका बीच शपथका कार्यक्रम रादिएपनि असन्तुष्ठ पक्षले अवरोध गरेको छ । अवरोधका कारण शपथ ग्रहण अनिश्चित बनेको छ ।