भक्तपुर । विजयादशमीको दिन भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिरमा जीवित देवी एकान्त कुमारीको हातबाट टीका थाप्न सर्वसाधारणको भीड लागेको छ । तलेजुका मूल नाईके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले कुमारी लुनिभा बज्राचार्यको हातबाट साइतको टीका लगाएको मूल नाइके जोशीले जानकारी दिए ।
जोशीले कुमारीको हातबाट टीका लगाएपछि मात्र अन्य व्यक्तिको हातबाट टीका लगाउने परम्परा रहेको बताए । कुमारीले साइतको टीका लगाएपछि कुमारीको हातबाट टीका लगाउन विभिन्न विशिष्ट व्यक्तिहरु र सर्वसाधारण समेत तलेजु पुगेका छन् ।
तलेजुको प्रतिमूर्तिको रूपमा पुजिने एकान्त कुमारी लुनिभा बज्राचार्यलाई तलेजुको आगमघरमा ल्याएर विधिवत रूपमा जात्रा मनाइएको जोशीले बताए । टिबुक्छेँमा रहेको ११ जनाको गणकुमारीको चतुर्ब्रह्म महाविहारमा पूजा सकेर तलेजुमा विराजमान गराइएको थियो ।
क्वाठण्डौस्थित कुमारी घरबाट कुमारीलाई शुभसाइतमा तलेजु मन्दिर स्थित दसैँ घरमा ल्याएर बिराजमान गराई मूल चोकमा राखेर पूजा गरिएको उनले जानकारी दिए । तलेजुमा मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बली दिइने परम्परा छ ।