काठमाडौँ । असत्यमाथि सत्यको विजय प्राप्त गरेको किंवदन्तीका रुपमा रहेको बडादसैँले नेपालीमा खुसी, राष्ट्रिय एकता, नवनिर्माण र जनताको जीवनमा परिवर्तन ल्याउने इच्छाशक्ति र दृढ सङ्कल्पको विकास गर्न सकोस् भनी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुभकामना व्यक्त गरेका छन् ।
मंगलबार विजयादशमी २०८० का अवसरमा शुभकामना दिँदै घिमिरेले स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गरे । “उमङ्गमय वातावरणमा देश परदेश गएका आफन्तको मिलनले नाता सम्बन्धलाई गाढा र न्यानो बनाउने भएकाले दसैँको विशेष सांस्कृतिक महत्व रहिआएको छ, दसैँलाई सांस्कृतिक महत्त्वको चाडको रुपमा विकास गरी पर्वको गरिमा वृद्धि हुने गरी मनाउन अपिल गर्दछु”, सभामुख घिमिरेद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
विभिन्न जातजातिका भाषा, धर्म, संस्कार, संस्कृति, रहनसहन, चाडपर्व, भेषभूषा, रीतिथिति, इतिहास र चालचलन नेपालीको पहिचान भएको सन्देशमा उल्लेख छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको उल्लेख गर्दै उनले संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्तिका रुपमा रहेका बताएका छन् । उनले वडादसैँले आपसी एकता, शान्ति र सकारात्मक सोच विकास गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।