भक्तपुर । भक्तपुरको ल्यासिंखेलमा सुरु भएको ४३औँ नेपालभाषा साहित्य तःमुंज्या (भाषा सम्मेलन) मा बोल्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले लिम्पियाधुरा, कालापानी नेपालको भूमि रहेकाले त्यो भूमिसँग जग्गा साटफेर गर्न नहुने बताएका छन् । उनले नेपालको भूमि सामरिक महत्वको क्षेत्र भएकोले कुनै पनि हालतमा नेपालले छोड्न नहुने बताएका हुन् । कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, पूर्व न्यायाधीश गौरीबहादुर कार्की, ज्योतिषशास्त्री वीरेन्द्रप्रसाद कायष्थ, सम्मानित कार्टुनिष्ट मोहनश्याम खोकना, शिक्षाकर्मी मानन्धर, इञ्जिनीयर श्रेष्ठ लगायतले भाषाले नै इतिहास र पहिचान बोक्ने बताए । कार्यक्रममा बिजुक्छेले जनगायक चन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ इञ्जिनीयर राजदास श्रेष्ठ, वरिष्ठ कार्टुनिस्ट मोहनश्याम खोकना र शिक्षाकर्मी अम्बिकामान मानन्धरलाई दोसल्ला ओढाएर नगद रु. २५ हजारसहित सम्मानपत्रद्वारा सम्मान गरेका हुन् ।