काठमाडौं । मुगुस्थित नगरपालिकामा एकै परिवारका एक महिलासहित तीन छोराछोरीको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको छ । मुगु, छायाँनाथ रारा नगरपालिका–६ मन्दु बस्ने २८ वर्षीया श्रीदेवी बोहोरा, उनकै छोराहरू ११ वर्षीय मनोज बोहोरा, एक वर्षीय रहर बोहोरा र सात वर्षीया छोरी अप्सरा बोहोरा आफ्नै घरमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार उनीहरुको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय मुगु, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट कुकुरसहित खटिएको प्रहरी टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
त्यसैगरी, कास्की, माछापुच्छ्रे गाउँपालिका–८ ईदीखोला बस्ने ६२ वर्षीय तुल्सी प्रसाद गौतम घर नजिकै गोरेटो बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै, पर्सा, वीरगंज महानगरपालिका–२४ बहुअरी बस्ने २७ वर्षीय प्रदिप यादव आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस यि दुबै घटना सम्बन्धमा समेत प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।