काठमाडौं । राइड सेयरिङ/हेलिङ विधामा स्थापित कम्पनी पठाओले आफ्ना सेवाका दायरा बढाउँदै जाँदा पुरानो लोगो परिवर्तन गरी नयाँ लोगो सार्वजनिक गरेको छ ।
नयाँ लोगोमा नगवेली बाटो/सडक ‘थिम’मा पठाओको पहिलो अङ्ग्रेजी अक्षर ‘पी’ लेखिएको छ । पहिलेको लोगोले राइड सेयरिङको अर्थ दिन्थ्यो भने नयाँ लोगोले समस्यादेखि समाधानको बाटोको अर्थ दिएको र यसले सबै सेवाहरुलाई सम्बोधन गर्ने पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए । झोला बोकेर दुईपाङ्ग्रे साधन चलाइरहेको जस्तो देखिने पठाओको लोगो परिवर्तन भई नयाँ लोगो सार्वजनिक भएको हो । नेपालमा पाँच वर्षमा छवटा (पठाओ बाइक, पठाओ कार लाइट (ट्याक्सी), पठाओ फुड, पठाओ बजार, पठाओ टुकटुक, पठाओ पार्सल) सेवाहरु प्रदान गरिरहेको पठाओ आगामी दिनमा सेवा थप्दै सुपर एप बन्ने योजनामा रहेको बस्न्यात बताउँछन् ।
केही समयअघि काठमाडौं उपत्यकामा सुरु भएको ‘पठाओ पार्सल’लाई देशव्यापी बनाउने र डिजिटल बालेट ‘पठाओ पे’ समेत सुरु गरिने यसअघि नै पठाओ नेपालले जानकारी गराइसकेको छ । लोगो परिवर्तनले सेवाग्राहीमा नयाँपनको आभास गराउने बस्न्यात बताउँछन् । पठाओको नयाँ लोगो विश्वव्यापी रुपमा अक्टोबर २५ देखि लागू भइसकेको बताइएको छ ।