काठमाडौं । नेपाल राष्ट्र बैंकले १७ करोड ६७ लाख रुपैयाँबराबरको निक्षेप लगानी गर्ने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूमा निक्षेप राख्न प्रस्ताव आह्वान गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले कात्तिक १४ गतेसम्ममा लगानी लिन चाहेको रकम र दिन चाहेको ब्याज उल्लेख गरी आवेदन दिनुपर्नेछ । रकम लगानीको अवधि तीन सय ६५ दिन रहेको छ । राष्ट्र बैंकले २०८० मंसिर ४ गतेदेखि २०८१ मंसिर ३ गतेसम्म निक्षेप राख्न लागेको हो । लगानीको लागि छुट्याएको कुल रकममध्येमा वाणिज्य बैंकमा १४ करोड १४ लाख रुपैयाँ, विकास बैंकमा दुई करोड ६५ लाख रुपैयाँ र फाइनान्स कम्पनीमा ८८ लाख रुपैयाँ छुट्याएको छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुुनुपर्नेछ । यीबाहेक तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी भएको हुुनुुपर्नेछ ।
यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात केन्द्रीय बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको र रियल स्टेट कर्जा तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्नेछ ।
