काठमाडौं । विकास बैंकहरुमा कर्जा खाताको संख्या घट्दै गएको देखिएको छ । विगतमा धेरैजसो विकास बैंकहरु वाणिज्य बैंकसँग गाभिएका कारण कर्जा खाता घटेको हो ।
नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार आर्थिक वर्ष २०७९/०८० को भदौ मसान्तको तुलनामा २०८०/०८१ भदौ मसान्तमा विकास बैंकहरुमा कुल कर्जा खातासंख्या छ हजार दुई सय ९९ ले घटेको छ । गत आर्थिक वर्षको भदौ मसान्तमा विकास बैंकहरुमा दुई लाख ९४ हजार सात सय २२ वटा कर्जा खाता सञ्चालनमा थिए । चालू आर्थिक वर्षको भदौ मसान्तमा यस्तो संख्या दुई लाख ८८ हजार चार सय २३ वटामा झरेको छ । कर्जा खाताको संख्या घटे पनि चालू आर्थिक वर्षको भदौ मसान्तमा विकास बैंकहरुको कुल कर्जा रकम गत आर्थिक वर्षको तुलनामा २० अर्ब ९६ करोड ४० लाख रुपैयाँले बढेर चार खर्ब ७१ अर्ब ४० करोड १० लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९/०८० को भदौ मसान्तमा विकास बैंकहरुको यस्तो कर्जा रकम चार खर्ब ५० अर्ब ४३ करोड ७० लाख रुपैयाँ थियो ।
पछिल्लो अवधिमा विकास बैंकहरुमा कर्जा खातासंख्या घटे पनि निक्षेप खाता एवं निक्षेप रकम भने उल्लेख्य बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तमा विकास बैंकहरुमा कुल निक्षेप खातासंख्या ६५ लाख ६६ हजार नौ सय ८३ पुगेको छ । यो संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नौ लाख १३ हजार तीन सय ८९ वटाले बढी हो । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरुमा कुल ५६ लाख ५३ हजार पाँच सय ९४ वटा निक्षेप खाता सञ्चालनमा थिए । चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा विकास बैंकहरुको कुल निक्षेप रकम पाँच खर्ब ६८ अर्ब ९९ करोड ९० लाख रुपैयाँ पुगेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६ अर्ब ६९ करोड ६० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरुको यस्तो निक्षेप पाँच खर्ब दुई अर्ब ३० करोड ३० लाख रुपैयाँ थियो । विकास बैंकहरुको चुक्ता पुँजी भने चालू आर्थिक वर्षको भदौ मसान्तमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन अर्ब ११ करोड ६० लाख रुपैयाँले बढेको छ । अघिल्लो आर्थिक वर्षको भदौ मसान्तसम्ममा ३७ अर्ब नौ करोड १० लाख रुपैयाँ रहेको विकास बैंकहरुको चुक्ता पुँजी अहिले बढेर ४० अर्ब २० करोड ७० लाख रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा सञ्चालनमा रहेका १७ वटा क्षेत्रीय र राष्ट्रियस्तरका विकास बैंकहरुको कुल संख्या भने एक हजार एक सय ३१ वटा रहेको छ । यो संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ वटाले बढी हो । अघिल्लो आर्थिक वर्षको भदौ मसान्तमा विकास बैंकहरुको एक हजार एक सय २० वटा शाखाहरु सञ्चालनमा थिए । पछिल्लो अवधिमा विकास बैंकहरुमा सञ्चालनमा रहेका कुल एटीएम काउन्टरको संख्या भने तीन सय ४६ वटा पुगेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० वटाले बढी हो । गत आर्थिक वर्ष भदौ मसान्तममा विकास बैंकहरुमा तीन सय २६ वटा एटीएम काउन्टरहरु सञ्चालनमा थिए ।
बैंकिङ कसुरसम्बन्धी विधेयक संसद्मा : बैंकिङ कसुरसम्बन्धी ऐनको संशोधन विधेयक प्रतिनिधिसभामा पेस भएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अर्थमन्त्रीको तर्फबाट आइतबार प्रतिनिधिसभासमक्ष विधेयक प्रस्तुत गरेका हुन् ।
यसअघि चेक अनादरसम्बन्धी व्यवस्थालाई संशोधन गर्न ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ १६ असोज २०८० मा प्रतिनिधिसभामा दर्ता भएको थियो । विधेयकको विरोधको सूचनाका सन्दर्भमा उठेका प्रश्नहरूको जवाफ दिँदै कानुन न्याय तथा संसदीय मामिला मन्त्री गुरुङले बैंक तथा वित्तीय कारोबारमा हुनसक्ने चेक अनादरजस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउन संशोधित विधेयक ल्याएको जानकारी दिए ।