काठमाडौं । गणतन्त्रका उपलब्धिहरु उल्टाउने गरी राजावादी खेमाबाट भइरहेका प्रतिगामी षडयन्त्रहरुको भण्डाफोर गर्ने भन्दै सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले सडक संघर्षको कार्यक्रम घोषणा गरेको छ ।
माओवादी केन्द्रले भ्रातृसंगठनहरुलाई मंसिर २२ गते काठमाडौंमा सडक संघर्ष गर्ने तयारीमा उत्रन निर्देशन दिएको छ । माओवादी केन्द्रले सरकारमा बसेर राज्यका नीतिहरु कार्यान्वयन गर्नुपर्नेमा प्रतिपक्षी दलको व्यवहार देखाउन लागेको हो ।
पहिलो चरणमा काठमाडौंमा संघर्षको कार्यक्रम घोषणा गरिएको भन्दै माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले त्यसपछि प्रदेश र पालिका तहसम्म पुग्ने बताए । प्रधानमन्त्री नै पार्टी अध्यक्ष भएको बेलामा किन सडकमा जाने भन्ने प्रश्नमा सापकोटाले भने, ‘व्यवस्थाविरोधी अराजकता देखिएका छन्, लोकतन्त्रको रक्षाका लागि हामीले नागरिकहरुलाई पार्टीको लेभलबाट पनि सचेत गराउनुपर्छ । सडकको संघर्ष भनेको एक किसिमले जनपरिचालन हो भनेर बुझ्दा हुन्छ । यो हामी देशैभरि गर्नेछौं ।’