काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको जनाएको छ । नयाँ मूल्य बुधबार बिहान एक बजेदेखि लागू भएको छ ।
निगमले भारतीय आयल कर्पोरेसनबाट पेट्रोल र एलपी ग्यासको मूल्य बढेर आए पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनबमोजिम पुरानै मूल्यलाई यथावत् राखिएको जनाएको छ । निगमका अनुसार भारतीय आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ ५१ पैसा र एलपी ग्यासको प्रतिसिलिन्डर ९३ रुपैयाँ ६० पैसा बढेर आएको थियो । डिजेलको मूल्य भने प्रतिलिटर तीन रुपैयाँ ६३ पैसा घटेर आएको थियो ।
बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले निगमलाई ग्यास र पेट्रोलमा बढेर आएकोे मूल्य नबढाउन र डिजेलमा घटेर आएकोे मूल्य घटाउन निर्देशन दिएका थिए । त्यसपछि निगम व्यवस्थापन समितिले स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेल र मट्टीतेलको मूल्य घटाउने र चाडपर्वको बेला उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र एलपी ग्यासको मूल्य यथावत् राख्ने निर्णय गरेको हो ।
नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर एक सय ६४ रुपैयाँ कायम भएकोे छ । भूगोलअनुसार सुर्खेत र दाङमा एक सय ६३ रुपैयाँ, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी, वीरगञ्ज क्षेत्रमा एक सय ६१ रुपैयाँ ५० पैसा तोकेको छ ।