काठमाडौं । माछापुच्छ्रे क्यापिटल लि.को चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले सोमबार काठमाडौंको बालुवाटारस्थित बालुवाटार प्यालेस बैंक्वेट, गैरीधारामा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्व तथा क्यापिटलको मूल कम्पनी माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको आतिथ्यमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
साधारणसभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.व. २०७९/८० को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरू र आ.व. २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरू पारित भएका छन् । सभामा अध्यक्ष न्यौपानेले कम्पनीले धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवा प्रवाह गर्दै आएकोमा हाल सामूहिक लगानी कोषअन्तर्गत कोष व्यवस्थापक तथा डिपोजिटरीको लाइसेन्सको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धक लगायतका थप सेवाका लागि प्रक्रिया सुरु गरेको पनि जानकारी दिए । कम्पनीले आगामी दिनमा पुँजी बजारको विकासमा अझ बढी टेवा पुग्ने गरी कार्य गर्ने विश्वास व्यक्त गरे ।