काठमाडौं । बुधबार नेपाल पर्वतारोहण सङ्घको ५० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पर्वतीय पर्यटनको विकास र प्रवर्द्धनका लागि थप काम गर्न सरकारसँग आग्रह गरेका छन् ।
नेपालमा आरोहणका लागि खुला नगरिएका हिम शृङ्खलाहरु खुलाउन जरुरी रहेको राष्ट्रपति पौडेलले सुझाव दिए । उनले जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका लागि सङ्घले आफ्नो तर्फबाट गम्भीरतापूर्वक काम गर्न आवश्यक रहेको बताए ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल कार्बन उत्सर्जन कम गर्ने देश हुँदाहुँदै पनि जलवायु परिवर्तनको समस्या नेपालले भोग्नुपरेको कुरा गर्नु र यसबारेमा विश्वको ध्यानाकर्षण गराउनु नेपालका लागि सन्तोषको विषय भएको पौडेलले बताए ।
पौडेलले हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई हिमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवर्द्धनमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।