काठमाडौं । गणतन्त्र कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्री ज्योङ ह्वाङ–गेउनसँग विहिबार भएको शिष्टाचार भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कृषि क्षेत्रलाई आम्दानी र रोजगारीमूलक पेशाकै रुपमा विकास गर्न कृषिको यान्त्रिकीकरण र आधुनिकिकरणका लागि कोरीयाली सरकारलाई आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलले कृषिमा गरिने लगानीमा कर नलगाउने नेपाल सरकारको नीति रहेकोतर्फ ध्यानाकर्षण गराएका थिए । उनले नेपालमा कृषि विकासको प्रचुर सम्भावना रहे पनि परम्परागत प्रणाली यसको बाधक भएको बताउँदै प्रविधिमा ठूलो फड्को मारेको कोरियाले प्रविधि र लगानीमार्फत सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।
कृषिलाई रोजगारी र आम्दानीको पेशा बनाउन नयाँ प्रविधि र लगानीको आवश्यकता छ भन्दै राष्ट्रपति पौडेलले नेपालमा कृषि औजार कारखाना, रासायनिक तथा प्राङ्गारिक मल कारखाना, कृषि चिस्यान केन्द्रको स्थापना, कृषि उत्पादन प्रोसेसिङ उद्योगलगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको पनि बताए ।
कोरियाको कृषि क्षेत्रमा धेरै नेपाली श्रमिकहरु कार्यरत रहेका र उनीहरुले राम्रो पनि गरिरहेको उल्लेख गर्दै कृषि श्रमिकलाई समानरुपमा व्यवहार हुने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे । उनले कोरियामा रहेको नेपालीहरुको बचतलाई जम्मा गर्न नेपाली बैंकको स्थापना हुन सके सहज हुने र यसका लागि आवश्यक पहल लिन पनि आग्रह गरेका थिए ।
नेपालको कृषि क्षेत्रको विकासमा हरेक किसिमका सहयोग गर्न कोरियाली सरकार इच्छुक रहेको बताउँदै कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्री ज्योङ ह्वाङ–गेउनले मल कारखाना स्थापनाका लागि हरतरहरले पहल गर्ने जानकारी दिए । उनले कोरीयामा नेपाली बैंक स्थापनाका लागि नेपालबाट फर्कने वित्तिकै सम्बन्धित निकायसँग छलफल गर्ने बताए ।