काठमाडौँ । गुठी संस्थानको ६०औँ वार्षिकोत्सव समारोह शुभारम्भ गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले कानुनबमोजिमको अधिकार प्रयोग गरेर आम नागरिकहरुको समस्या समाधान गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् ।
उनले नागरिकको काम छिटोछरितो गरी उनीहरुलाई सहज सेवा प्रदान गर्ने दायित्व कर्मचारीको भएको बताइन् । कतिपय अनियमितताको कार्यमा कर्मचारी नियम मिचेर काम गर्ने गरेको गुनासो आएको बताउँदै उनले त्यस्तो कार्यमा कसैको संलग्नता पाइएमा कारबाही गर्ने प्रतिबद्धता जनाइन् ।
संस्थानमा कतिपय ऐन कानुनको अभावका कारण जटिलता देखिएको चर्चा गर्दै मन्त्री श्रेष्ठले त्यसको समाधानका निम्ति आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले गलत नियत राखेर जनताको काममा ढिलासुस्ती गर्ने अथवा माथिल्लो निकायको आदेश भनेर कानुन विपरीत काम गर्ने कर्मचारी कारवाहीको भागेदार हुने उल्लेख गरिन् । गुठीका जग्गा अतिक्रमणका घटना बढ्दै गएकाले त्यसलाई नियन्त्रण तथा नियमन गर्नुपर्नेमा जोड दिइन् ।